गुर्भाकोटमा ‘गुर्भाकोट बुक बैंक’ सार्वजनिक पुस्तकालय खुल्यो

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिकामा पहिलो सार्वजनिक पुस्तकालय खुलेको छ। गुर्भाकोट ग्यालरीको प्रयासमा खुलेको गुर्भाकोट बुक बैंक सार्वजनिक पुस्तकालयको बुधवार एक कार्यक्रमबीच गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले उद्घाटन गर्नुभयो।

गुर्भाकोट ग्यालरीले विभिन्न पुस्तकदाताहरू बाट पुस्तक संकलन गरेर सार्वजनिक पुस्तकालयको स्थापना गरेको हो। पुस्तकालयका लागि स्थान र फर्निचर उपलब्ध गराएर नगरपालिकाले सहयोग गरेको छ।

उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख पुनले गुर्भाकोटमा पढ्ने संस्कृतिको विकास गर्न यो बुक बैंक महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गुर्भाकोटका युवाहरूले गुर्भाकोट ग्यालरी मार्फत गर्दै आएका सामाजिक कामहरूको समेत प्रशंसा गर्नुभयो।

उद्घाटन समारोहलाई नगर उपप्रमुख मैना वि.क, गुर्भाकोट ८ का अध्यक्ष किरण कुमार वि.क, शिक्षा अधिकृत पदम वि.क., मेहेलकुना अस्पतालकी डा. विमला केसी लगायतले सम्बोधन गर्नुभएको थियो।
गुर्भाकोट ग्यालरीले गुर्भाकोट भित्रका विभिन्न सामाजिक काम तथा अभियान र संस्कृति संरक्षणमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ।

पुस्तकालयका लागि गुर्भाकोट नगरपालिकाले वडा नं. ८ को कार्यालयसँगै रहेको कोसेली घरको हल उपलब्ध गराएको छ भने हाललाई हरेक शनिवार १० बजेदेखि ४ बजेसम्म पुस्तकालय खुल्ने गुर्भाकोट ग्यालरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!