कम्युनिष्टको ललिपपमा नफसौँ : रेग्मी

पढ्नै पर्ने

सुर्खेत। नेपाली काँग्रेस कर्णाली प्रदेश कार्यसमितिका सदस्य एवं बौद्धिक तथा पेशागत विभागका प्रमुख चित्र बहादुर रेग्मीले आसन्न निर्वाचनमा कम्युनिष्टको ललिपपमा नफस्न आग्रह गर्नु भएको छ। गुर्भाकोट नगरपालिकाको वडा नं. ४ मा शुक्रवार आयोजित नेपाली काँग्रेसको प्रशिक्षण कार्यक्रममा बोल्दै रेग्मीले अघिल्लो निर्वाचनमा बाम गठबन्धनका नाममा कम्युनिष्टको ललिपपमा फस्दा सुर्खेती जनताले मात्र नभई पुरै देशले दुःख पाएको बताउनु भएको हो।

विगतमा नेकपाको ३ वर्षे शासनकाल नपाउनेले केरा पायो, बोक्रासँग खायो भन्ने उखानसँग मिलेको भन्दै रेग्मीले जनतासँग नेपाली काँग्रेस अभियान अन्तर्गत मतदातामाझ कम्युनिष्टहरूको नक्कली चरित्रको भण्डाफोर गर्दै मंसिर ४ मा हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा होमिन कार्यकर्तालाई अपिल गर्नुभयो। सुर्खेत र देशकै हितका लागि आम मतदातामा गई रुखमा मतदान गर्ने वातावरण निर्माण गर्नपनि रेग्मीले अगुवा कार्यकर्तालाई आग्रह गर्नुभयो। काँग्रेसले हार्नु भनेको देशले हार्नु भएको बताउँदै रेग्मीले एमालेले जिते फेरी देशमा काण्डैकाण्ड मच्चिने बताउनु भयो।

कार्यक्रममा नेपाल शिक्षक महासंघ कर्णाली प्रदेशका सचिव गोबिन्द ढकाल र नेपाली काँग्रेस गुर्भाकोटका उपसभापति मधु गुरुङले नेपाली काँग्रेसको इतिहास, स्थानीय सरकार सञ्चालन ऐन र पार्टीको विधान तथा प्रावधान सम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो। 

प्रशिक्षण कार्यक्रममा गुर्भाकोट ४ का वडाध्यक्ष रामबहादुर डाँगी र सदस्य ज्ञान बहादुर डाँगीले आफूहरूले वडावासीका हर सुखदुःख र सेवाप्रवाहमा निरन्तर र निस्वार्थ सहयोग गरिरहेको भन्दै आसन्न निर्वाचनमा आफ्ना वडावासीले नेपाली काँग्रेसका उम्मेदवारहरु जिताउन विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।