नेपाली काँग्रेसबाट सुर्खेत १ ‘क’ मा उम्मेदवारका लागि चार नेताको नाम सिफारिस

पढ्नै पर्ने

सुर्खेत। नेपाली काँग्रेस सुर्खेत १ क प्रदेश सभा कार्यसमितिले आसन्न प्रदेश सभा निर्वाचनको उम्मेदवारका लागि प्रत्यक्ष तर्फ चारजना नेताको नाम सिफारिस गरेको छ। १ क प्रदेश सभा कार्यसमितिको बुधवार गुर्भाकोटमा बसेको बैठकले चार नेताको नाम उम्मेदवारका रुपमा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय समितिलाई पठाएको हो।

बैठकले प्रदेश सभा सदस्यको सुर्खेत १ क को प्रत्यक्षतर्फ चित्र बहादुर रेग्मी, खड्क बहादुर पोखरेल, केशर बहादुर वली र टेक बहादुर सिंहको नाम सिफारिस गरेको छ। उम्मेदवारको रुपमा सिफारिस हुनुभएका रेग्मी नेपाली काँग्रेसको कर्णाली प्रदेश कार्यसमिति सदस्य र बौद्धिक तथा पेशागत विभागको प्रमुख समेत रहनुभएको छ। यसैगरि पोखरेल नेपाली काँग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सभापति, वली सुर्खेत १ क प्रदेश सभा कार्यसमितिका सभापति र सिंह अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्य पदका पराजित उम्मेदवार हुनुहुन्छ।

सिफारिस भएका चारवटै नाममा क्षेत्रीय समितिले राय सहित जिल्ला समितिलाई पठाउने, जिल्ला समितिले राय सहित प्रदेश कार्यसमितिलाई पठाउने र प्रदेश कार्यसमितिले राय सहित केन्द्रलाई पठाउने छ। 

सुर्खेत १ क मा स्थानीय निर्वाचनको मत परिणाम अनुसार माओवादी केन्द्रको मत १ हजार ४१ मात्रै भएकाले गठबन्धन हुँदा प्रदेश काँग्रेसले छोड्ने संभावना छैन। सिफारिस भएका चार मध्ये १ जनालाई पार्टीले टिकट दिने १ क प्रदेश सभा कार्यसमितिका सभापति वलीले बताउनु भयो। प्रतिनिधि सभा सदस्य पदका लागि भने सुर्खेत क्षेत्र नं. १ बाट ४८ सालदेखि नै नेपाली काँग्रेसका उपसभापति पुर्णबहादुर खड्काले निर्वाचन लड्दै आउनु भएको छ।

आजको बैठकले प्रदेश सभा सदस्य पदको समानुपातिक तर्फको उम्मेदवारका लागि ९ जनाको नामपनि सिफारिस गरेको छ। बैठकले समानुपातिकतर्फ अनन्त पौडेल, खिमानन्द ढकाल, बलिमाया बुढा, याम पंगाली, नारायण सापकोटा, धनसरा शाही, शसिला कार्की, नरबहादुर सुनार र तेज बहादुर खत्रीको नाम सिफारिस गरेको सभापति वलीले जानकारी दिनुभयो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।