Monday, January 20, 2025
spot_img

अग्नि परीक्षामा समिक्षा बास्कोटा

लामो रस्साकस्सीबीच विवेकशील साझा पार्टीले नेतृत्व चयन गरेको छ। विवेकशील साझाका संस्थापक अध्यक्ष रवीन्द्र मिश्रले राजिनामा दिएपछि कोमामा पुगेको विवेकशील साझाले समिक्षा बास्कोटाले नेतृत्व सम्हाल्न आएसँगै पुनर्जीवन पाउन सक्ने अनुमान गर्न थालिएको छ। त्यसो त समिक्षा बास्कोटा विवेकशील साझाको सर्वस्वीकार्य नेतृत्व होइनन्। आन्तरिक विवाद, पार्टी भित्रका तीनओटा गुट, ती गुट भित्रका उपगुटलाई चिर्दै उनले नेतृत्वमा हस्तक्षेप गरेकी हुन्। पार्टीका सबै तहका नेताहरुले निकास दिन नसकेपछि बास्कोटा आफैं अघि सरेर नेतृत्वमा पुगेकी हुन्। पार्टीभित्रका तीनओटा मुख्य गुट मध्ये केन्द्रीय समितिमा कसैको पनि बहुमत पुग्न नसकेकै कारण पार्टी लामो समय अनिर्णयको बन्दी बनेको थियो। बास्कोटाले तीन मध्येका दुईओटा गुटको समर्थनमा पार्टीको नेतृत्व लिएकी हुन्। बास्कोटालाई अध्यक्ष बनाउन पार्टीका नेता प्रकाशचन्द्र परियारले मुख्य भूमिका निर्वाह गरे। यद्यपि पूर्व अध्यक्ष रवीन्द्र मिश्र, पार्टीका नेता निर्देश सिलवाल र सञ्जीव बल्लभ भट्टराई पार्टीलाई निकास दिने कुरामा सकारात्मक बने र पार्टी केन्द्रीय समितिको बहुमतले समिक्षालाई पार्टीको अध्यक्ष बनाउने निर्णय ग¥यो।

समिक्षा बास्कोटा अध्यक्ष बनेसँगै लामो समयदेखि नेतृत्वविहीन बनेको पार्टीले नेतृत्व त पायो तर विवेकशील साझा भित्रका समस्याका चाङ जस्ताका तस्तै छन्।

पाण्डे समूहलाई व्यवस्थापन या कारवाही
तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको विचारभन्दा माथि देश दस्तावेजलाई पार्टी केन्द्रीय समितिबाट पास गरेका सबै सदस्यहरु एक ठाउँमा उभिएपछि समिक्षा बास्कोटा अध्यक्ष चयन भएकी हुन। यो प्रक्रियामा तत्कालीन संयोजक मिलन पाण्डे समूह सहभागि छैन। यो समुहलाई वैचारिक रुपले मनाएर सांगठनिक रुपले व्यवस्थापन गर्ने कि कारवाही गरेर जाने भन्ने चुनौती समिक्षालाई छ। विचारभन्दा माथि देश दस्तावेज ल्याउने तत्कालीन अध्यक्ष पार्टीको केन्द्रीय समितिमा समेत नरहेकाले पुनः पार्टीले लिने विचारका सम्बन्धमा बहस त गर्न सकिन्छ तर सांगठनिक व्यवस्थापनमा पाण्डे समूहको नेतृत्व स्वीकार गर्न अरु पक्षहरु तयार देखिदैनन्, आफू अध्यक्ष बन्न नपाए पाण्डे समूह सहमतिमा आउने सम्भावना देखिदैन। त्यो अवस्थामा समिक्षाले पाण्डे र पाण्डे समूहका केही मान्छेहरुको सदस्यता खारेजी सम्बन्धी निर्णय गर्नुपर्ने हुनसक्छ। त्यसो गर्दा नयाँ अध्यक्ष विवादमा पर्ने जोखिम भने छ नै।

पार्टीले लिने विचार
समिक्षा बास्कोटालाई समर्थन गरेर अध्यक्ष बनाउने समूहले नै तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको विचारभन्दा माथि देश दस्तावेज पास गरेको थियो। यसरी हेर्दा अब पार्टीले विचारभन्दा माथि देशलाई नै अंगिकार गरेर जाने हो की भन्ने देखिन्छ। तर विचारभन्दा माथि देश रवीन्द्र मिश्रको पुस्तकका रुपमा आउन लागेको र उक्त पुस्तकमा मिश्रले संवैधानिक राजतन्त्रको वकालत गरेकाले निर्देश सिलवाल समूहले त्यसलाई अंगिकार गर्ने सम्भावना अघि देखिदैन। रवीन्द्र मिश्रको राजनीतिक विचारका रुपमा आएको विचारभन्दा माथि देशलाई अंगिकार गर्दा निर्देश सिलवाल समूहले साथ छोड्न सक्ने र विचारभन्दा माथि देशलाई अस्विकार गरेर अगाडि बढ्दा मिश्र निकटका नेताहरुले साथ छोड्न सक्ने संभावना उत्तिकै हुन्छ। यो विषय पनि नयाँ अध्यक्षका लागि अत्यन्तै चुनौतीपूर्ण छ।

पूनर्गठनको चूनौती
विवेकशील साझा पार्टी स्थापना भएयता भएका विभिन्न आन्तरिक विवाद, विवादले उत्पन्न गरेको वितृष्णा लगायतका कयौं कारणले यो पार्टी छोडेका र स्वतन्त्र लगायत अन्य थप अभियानमा जोडिएका नेता कार्यकर्ताको ठूलो संख्या छ। आफ्नै जीवनकालमा देश बदल्ने हुटहुटी बोकेर आएका सयौं युवाहरुलाई पुनः विवेकशील साझा मै फर्काई पार्टी पुनगर्ठन गर्नु नयाँ अध्यक्षका कम्ति चुनौतीपूर्ण छैन। किनकी पार्टीका प्रतिवद्ध सदस्यहरु तयार नगरी अघि बढ्न समिक्षा बास्कोटाका लागि निकै अप्ठेरो हुनेछ। पार्टीको केन्द्रीय समितिमा हाल कायम रहेका तर सक्रियता समेत नदेखाउने केही अपरिपक्व केन्द्रीय सदस्यहरुलाई हटाएर सानो आकारको काम गर्ने मान्छेहरुको मात्र केन्द्रीय समिति बनाउने प्रयास गर्दा निर्देश सिलवाल समुहले पूर्ण रुपले साथ नदिन सक्छ र केन्द्रीय समिति पुनर्गठन नगरे नयाँ अध्यक्षलाई काम गर्न निकै चुनौतीपूर्ण हुन्छ।

विना तयारी चुनावमा होमिनुपर्ने चुनौती
०७४ सालको निर्वाचनमा विवेकशील साझा पार्टीले एउटा नारा तय गरेको थियो, यसपटक राष्ट्रिय पार्टी – अर्को पटक देशको नेतृत्व। तर त्यो निर्वाचनमा विवेकशील साझाले चुनाव जित्न सकेन र राष्ट्रिय पार्टी बनेन। त्यो दायित्व यसपटक नयाँ अध्यक्षले पुरा गर्नै पर्ने चुनौती छ। यद्यपि लामो समय विवाद र झण्डै विसर्जनको मुखमा पुगेको विवेकशील साझालाई मंसिर ४ का लागि मिति तोकिसकिएको निर्वाचनमा आम मतदातालाई विश्वासमा लिनुपनि निकै चुनौतीपूर्ण छ।

आर्थिक चुनौती
बलियो संगठन नभएको, भएका सदस्यहरुलाई लेभीको दायरामा ल्याउन नसकेको विवेकशील साझा पार्टीमा आर्थिक समस्या सबैभन्दा ठूलो चुनौती हो। सार्वजनिक आह्वान गरेर देश तथा विदेशमा रहने नेपालीले स्वेच्छाले दिने सहयोग बाहेक विवेकशील साझासँग कुनै नियमित आम्दानीको श्रोत छैन। पार्टी कोषमा पर्याप्त रकम नभए पार्टी कार्यालयको भाडा, दैनिक प्रशासनिक खर्च तथा अन्य राजनीतिक क्रियाकलाप गर्न निकै सकसपूर्ण अवस्थाको सामना गर्नुपर्ने देखिन्छ। यद्यपि पार्टी कार्यालय स्थानान्तरण, कर्मचारी तथा अन्य केही खर्च कटौती गरेर अघि बढ्नसक्ने सम्भावना भने छ तर निर्वाचन समेत नजिकिएकाले त्यसको खर्च व्यवस्थापनका लागि ठूलो चुनौती भने नयाँ अध्यक्षका अगाडि देखिन्छ।

सहकर्मीहरुले साथ छोड्न सक्ने चुनौती
विवेकशील साझा पार्टीका  पूर्व अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक रुपले आफू देशमा संवैधानिक राजतन्त्रको पक्षमा रहेको प्रष्ट पारिसकेका छन्। यस्तो अवस्थामा मिश्रको पहिलो रोजाई राप्रपा नै हो। श्रोतहरु भन्छन पूर्व अध्यक्ष मिश्र तेस्रो पटक राप्रपा जाने तयारी गरिरहेका छन्, केही दिन अघि मिश्रको निवासमै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रबीच भएको वार्ता सहमति नजिक पुगेको बताइन्छ। यदी यसपटकको संवादमा कतैबाट कुनै अवरोध नआए मिश्र आफ्नो समूह सहित भदौको तेश्रो सातासम्म राप्रपा प्रवेश गर्नेछन्। मिश्र राप्रपा प्रवेश गर्दा स्वाभाविक रुपमा केन्द्रीय समितिमा रहेका मिश्र पक्षधर केही नेताहरु मिश्रसँगै जानेछन्। समिक्षा बास्कोटाले नेतृत्व लिएको छोटो समयमै केही नेताहरुको संभावित बहिर्गमन उनका लागि अर्को चुनौती हो। निर्वाचन अगाडि नै मिश्र राप्रपा प्रवेश गर्दा वा छुट्टै राष्ट्रवादी शक्ति निर्माणको प्रयासमा लाग्दा ठूलो क्षति हुनबाट रोक्नु नयाँ अध्यक्षका लागि फलामको च्यूरा चपाए सरह हुनेछ।

महाधिवेशन गर्नुपर्ने चुनौती
विवेकशील साझाका पूर्व अधयक्ष रवीन्द्र मिश्रलाई महाधिवेशन गराउन नसकेको नचाहेको भनेर पटक पटक आरोप लाग्यो। त्यो आरोप चिरेर अघि बढ्नुपर्ने दायित्व समिक्षा बास्कोटाको काँधमा आईपुगेको छ।उनले निर्वाचन सकिनासाथ महाधिवेशनमा ध्यान केन्द्रीत गर्नुपर्नेछ। विवेकशील साझामा महाधिवेशनको कुरा आउँदा महाधिवेशन आफ्नो पक्षमा पार्न सदस्यताका ठेली बोकेर लाने तर अघिपछि संगठन विस्तारमा ध्यानै नदिने प्रवृत्ति अहिलेपनि छदैं छ। पात्र, प्रवृत्ति र परिस्थिति हेरेर गर्नुपर्ने महाधिवेशन पनि नयाँ अध्यक्षका लागि चुनौतीपूर्ण नै छ।

सहयोगी टिमको अभाव
अध्यक्ष चयन गर्ने प्रक्रियामै एक्लै दौडेर आफ्नो नाममा सहमती गराउन सफल समिक्षा बास्कोटासँग देखिएको सबैभन्दा ठूलो अभाव भनेकै उनको आफ्नो सहयोगीको टिम हो। बास्कोटासँग प्राविधिक रुपले, प्रसासनिक रुपले सहयोग गरिदिने मान्छेहरु छैनन्। कतिपय अफिसियल मिटिङ्गहरुमा त बास्कोटा आफैले ल्यापटप बोकेर आफैले निर्णय टाइप गर्नुपर्ने अवस्था समेत छ। उनलाई मनमौजी सल्लाह दिनेहरु त एकसयएक छन् तर उनको समय व्यवस्थापन, कामको चाप, राजनीतिक क्रियाकलाप लगायतका सम्पूर्ण कुराहरुमा विना स्वार्थ निष्पक्ष ढंगले काम गर्न सक्ने, योजना बनाउने र आवश्यकतामा हौसला दिने टिम विना पार्टीको सफल नेतृत्व बन्ने प्रयास गर्नुपनि चुनौती नै छ।

त्यसो त हरेक ठाउँको नेतृत्व लिदा चुनौतीहरु हुनु स्वाभाविक हो। चुनौतीहरुको सफल व्यवस्थापन नै असल नेतृत्वको गुण हो। यस्ता यावत चुनौतीहरुसँग नेतृत्वले लड्नै पर्ने कुराहरु सामान्य रुपले लिने गरियता पनि विवेकशील साझाको पछिल्लो अवस्था, देशको पछिल्लो राजनीतिक अवस्था, भताभुंग संगठनलाई हेरेर भन्ने हो भने समिक्षा बास्कोटाको अग्निपरिक्षा सुरु भएको छ। यद्यपि ४० वर्षभन्दा कम उमेरकी शिक्षित, परिपक्व र सक्षम महिलाले म पार्टीको नेतृत्व गर्छु र पार्टीलाई नयाँ जीवन दिन्छु भन्नु आफैमा अदम्य साहास हो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!