मान्छेहरु भन्छन्, आफू नमरी स्वर्ग देखिदैन। त्यसो त नर्क देख्न पनि मर्नै पर्छ। स्वर्ग र नर्क कसले देखेको छ थाहा छैन। तर स्वर्गको स्वर्णिम कल्पना गर्दा मुस्कुराउने मान्छेहरू नर्कका कुरा गर्दा नाक खुम्च्याउँछन्। तर मसँग एउटा यस्तो कथा छ, जहाँ म आफैं मान्छेहरूले भन्ने गरेको नर्कको बाटोमा उभिएको थिएँ।
पाँच वर्ष अगाडिको त्यो दिन। उस्को र मेरो पहिलो भेट।
एउटा जवान युवकले एउटी युवतीलाई देखेभन्दा, भेट्नुभन्दा अझ बढी आकर्षण, एकपल त आफैलाई लाग्यो एउटा पुरुष अर्को पुरुषसँग यती धेरै कसरी सम्मोहित हुन सक्छ? कसरी उस्का चम्किला आँखासँग वशीकृत हुनसक्छ? सेतो कपाल, पारदर्शी चश्मा अनि गज्जबको मुस्कान। बोलीमा मिठास, शब्दमा जोस अनि इमान्दारीसँग जोडिएको उस्को परिचय। यति देखेपछि लठ्ठिनु स्वाभाविक थियो।
ऊ म र मजस्ता दर्जनौं युवाहरूलाई यो देश बदल्ने सपना देखाइरहेको थियो, केही गरेरै छाड्ने हुटहुटी सहितको जोस भरिरहेको थियो।
उस्ले मलाई भेटेको केही मिनेटमै प्रभावमा पा¥यो। म उस्ले देखाएको बाटोमा हिड्न थालें। ऊ हिँडेको हरेक बाटो मेरो लागि आफ्नो बाटो थियो, उस्का हरेक अभिव्यक्ति मेरा आफ्ना अभिव्यक्ति थिए।
उस्को स्वभाव भने अलि भिन्न थियो। म र म जस्ता धेरै मान्छेहरू उसको देश बदल्ने यात्रामा सँगसँगै हिडे पनि ऊ हामीलाई उति सारो महत्व दिँदैनथ्यो। यसका केही स्वाभाविक कारणहरू थिए।
हामी भुइँमान्छे थियौं, धेरै भुइँमान्छेमा उस्ले खोजेको जस्तो विद्यावारिधि डिग्री थिएन। भाषण र केही सार्वजनिक टिप्पणीहरूमा दार्चुलातिर चकटीमा बसेर पढेको सन्दर्भ उल्लेख गरेपनि भुइँमान्छेप्रति उस्को खासै रुचि थिएन।
मैले उस्को स्वभावलाई प्रधान कहिल्यै ठानिन मात्र उस्को लक्ष्यलाई आफ्नो लक्ष्य ठाने, उस्का सपनाहरुलाई आफ्नो सपना ठाने र निरन्तर उस्कै पदचाप पछ्याउँदै हिँडें।
समय बदलिदै गयो। देश बदल्ने हुटहुटीले राजनीति मार्फत परिवर्तनको नेतृत्व गर्छु भन्ने उस्को आलोचना पनि बढ्दै गयो। कसैले उस्को शैली मिलेन भने, कसैले उसको विचार मिलेन भने, कसैले साथ छाडे। म यी सबै कुराको जिउँदो साक्षीका रुपमा उसैसँग बसिरहेँ। कारण थियो ऊ प्रतिको अगाध स्नेह, अगाध सम्मान अनि अथाह विश्वास!
ऊ माथि आलोचना, गाली, तुच्छ टिप्पणी गर्ने व्यक्ति र समुहहरूको हरेक आक्रमणमा म उस्का लागि ढाल बनेर उभिएको थिएँ र उभिएको छु। मलाई उस्ले कहिल्यै मेरो बचाउ गर्नु भनेको थिएन तर पनि उस्माथि हुने हरेक प्रहार विरुद्ध म लड्नै पथ्र्यो, किनकी ऊ मेरो नेतृत्व थियो, ऊ मेरो भरोसा थियो।
मैले र मजस्ता थुप्रैले उसको बचाउ गर्दा उस्ले कहिल्यै मलाई नोटिसपनि गरेन, धन्यवाद पनि दिएन। मैले मेरो ब्रम्हको सुनें, जे ठिक लाग्यो त्यही गरें। राम्रा भनिएका सम्बन्धहरुलाई पनि उस्कै बचाऊका लागि तिलाञ्जली दिएँ। बरु एकपटक उस्को अभियानलाई चन्दा दिदाचाँही उस्ले मलाई नोटिस गरेको थियो।
उस्ले परिवर्तनको नेतृत्व गर्ने भन्दै एउटा विचारको दस्तावेज सार्वजनिक ग¥यो। उस्को विचार सार्वजिक हुनासाथ सबैतिर तरंग आयो, सबैले एक एक शब्द केलाएर पढ्न थाले। तर म मात्र त्यो व्यक्ति हुँ जस्ले पढ्नुभन्दा पहिले सामाजिक सञ्जालमा त्यो दस्तावेज शेयर गर्दै लेखें;
नो इफ, नो बट सतप्रतिशत समर्थन!
दस्तावेजका विरोधिहरुले मलाई उस्को हनुमान करार गरे, मैले प्रतिवाद गरिन। प्रतिरक्षा गरेँ त केवल उस्को दस्तावेजको, उस्का सार्वजनिक अभिव्यक्तिको।
उसका आलोचकहरु म माथि खनिन थाले, कतिपयले सम्झाउने भाषामा भने, किन तैले यो उल्टो बाटोको समर्थन गरेको? तँ मा अलिकतिपनि राजनीतिक चेत छैन?
मैले सगर्व उत्तर दिएँ।
नेतृत्व खुइल्याएर सुसंस्कृत राजनीति गर्नु राजनीतिक चेत हो भने हो म मा राजनीतिक चेत छैन। म हजारौं युवाहरुको यो देश बदल्ने हुटहुटीमा नेतृत्वप्रति पूर्ण विश्वास गर्दछु र नेतृत्वले नर्क नै लगेछन् भनेपनि म जान्छु।
समय वित्दै गयो। एकदिन मेरो भरोसाको नेतृत्वले अचानक आफूले नेतृत्व छोडेको समाचार सञ्चारमाध्यममा आयो। नजिकका कसैसँग सल्लाह पो भयो कि भनेर सोधखोज गरें।
अहँ, कसैसँग सल्लाह भएको रहेनछ्।
मन झसंग भयो।
उस्ले नेतृत्व छोडेको दुईदिनपछि मैले उस्ले सुरुगरेको अभियान नै त्याग गरेको सार्वजनिक घोषणा गरे।
अभियान छाडेको घोषणा गरेपनि मनमा बेग्लै छटपटाहट भयो। आफूले विश्वास गरेको नेतृत्वलाई एकपटक भौतिक रुपमै भेटेर कुरा गर्ने निष्कर्ष निकाले।
उस्को निवासकै सोफामा उस्को अघिल्तिर बसेर उस्का कुरा सुनिरहँदा मेरो दिमागमा केही स्मृतीहरु ताजा बनेर आए।
मनले भनिरहेको छ, यो त्यही मान्छे हो मैले जस्को पक्षलिदा म हनुमान भएको थिएँ।
उ बोलीरहेको छ; हेर्नुस् यो अभियान कहींपनि पुग्दैन। मैले त अब यो देशमा राजा चाहिन्छ भनेर बोल्नै पर्छ।
उ निकै दबाबमा देखिन्थ्यो। मैले कुरा बुझें।
उस्ले पाँच वर्ष अघि मलाई यो देश बदल्ने सपना देखाएपछि उस्को हनुमानको पगरी गुथेको मेरै अगाडि ऊ आफू नै कसैको हनुमान भएको घुमाउरो भाषा बोलिरहेको थियो।
उस्ले रोजेको बाटोमा मेरो सहमति या विमति केही थिएन, मनमा आक्रोस मात्र थियो पाँच वर्ष पहिले नै एउटा मिसन बोकेर हाम्रा सपनाहरुको हत्या गर्नु उस्को राजनीतिक बेइमानी हो।
म उस्को घरबाट बाहिर निस्किएँ। उस्का विरुद्ध लेख्न, बोल्न, टिप्पणी गर्न मनले मान्दैथ्यो र मान्दैन पनि।
मेरो मनले उस्को राजनीतिक बाटोलाई अपमान गरेन र गर्दैन तर उस्ले गरेको राजनीतिक बेइमानीले आजपनि मन कटक्क खान्छ।
बोलौं? के बोलौं? हिजो म उस्कै हनुमान थिएँ, ऊ मेरो राम थियो।
आज ऊ देखाईरहेको छ आफ्नो असली महिषासुर रुप। राम त केवल ऊ आफ्नो मायावी शक्तिले मात्र बनेको थियो।
नर्क यात्राको बाटोमा उभिएर म आज राम बिनाको हनुमान बनेर बसिरहँदा ऊ कतै सञ्जालमा छुद्र टिप्पणी गर्छ, तिमी हनुमान होइन बाँदर हौं।
उस्को मनले भन्दो हो, बरु हनुमान त म पो हुँ कसैको…………..