हारेँ तर चुनाव जित्नकै लागि पञ्चायतसँग सम्झौता गरिनँ: दीपकप्रकाश बास्कोटा

पढ्नै पर्ने

जब २०२६ सालमा बीपी कोइरालासँग कालिम्पोङमा भेट हुँदा उहाँले तपाईहरु जुन ठाउँमा हुनुहुन्छ, ‘त्यही ठाउँमै रहेर डेमोक्रेसीका लागि काम गर्नुस’ भनेर भन्नु भएको थियो। त्यतिबेला म वडाध्यक्ष थिएँ। बीपीको वाक्यलाई सम्झेर मैले पञ्चायतकालभरि नै विभिन्न तहमा रहेरजनताको सेवा गरें। यो क्रम २०४६ को जनआन्दोलन हुनुअघिसम्मै चल्यो। कहिले निर्वाचित, कहिले निर्विरोध भएर राजनीति गरिरहें।

हुन त, म बाहेक पाँचथरमा नेपाली काँग्रेसका अरु नेताहरुले पनि पञ्चायती चुनावमा भाग लिएर जनप्रतिनिधिको भूमिका निभाएका थिए जसमा, मसहित फिदिम सदरमुकामको प्रधानपञ्च हरिश्चन्द्र नेम्बाङ, पूर्णकुमार शेर्मा, तेजप्रकाश रिजाल थियौं।

पञ्चायतकालभरि नै पाँचथरमा पद्मसुन्दर लावतीको दबदबा रह्यो। एकपटक लावती मन्त्री हुनुभएपछि उहाँको जिल्ला पञ्चायतको सदस्य पद रिक्त रहन गयो। त्यतिबेला राष्ट्रिय पञ्चायतको सदस्यमा उठ्नका लागि जिल्ला पञ्चायतमा निर्वाचित हुनुपर्थ्यो। उहाँको पदावधि सकिएको हुँदा जिल्ला पञ्चायत सदस्यका लागि निर्वाचन हुन लागेको रहेछ। त्यतिबेला म इलाम कलेजमा पढ्दै थिएँ र कलेजबाट जिल्लामा फर्किएपछि यो कुरा मैले थाहा पाएँ। त्यसपछि म लावतीसँग चुनाव लड्न तयार हुने भएँ।

चुनाव हारेपछि मैले लावतीलाई भनें, ‘तपाईले पहिलो पटक जित्दा धेरै मतान्तरले जित्नुभएको थियो तर अहिले भने थोरै मतान्तरले मात्र जित्नुभयो। यो मेरो हार होइन, विजय हो।’

२०३६ सालपछि जिल्ला पञ्चायतको सभापति, उपसभापति, सदस्यसहित पूरै प्यानलको निर्वाचन हुँदै थियो। त्यो चुनावमा प्रजातान्त्रिक धारबाट सभापतिमा पूर्णकुमार शेर्मा उठ्नु भएको थियो र मचाहीं उपसभापतिमा उठें। त्यो बेला हामी दुईसहित ९ वटै सदस्यहरुको संयुक्त प्यानल बनाएर चुनावमा उठेका थियौं। त्यसमा जिल्ला पञ्चायतको सदस्यका लागि हामीले एउटै चुनाव चिन्ह परेवा पाएका थियौं। त्यतिबेला प्यानल बनाएर, एउटै चुनाव चिन्ह दिइँदैनथ्यो। तर, हामीले त्यो सबै मिलाएर चुनावमा लडेका थियौं। त्यसमा जिल्ला सदस्यहरु पाँच जनाले जित्यौं भने सभापति र उपसभापति दुवै हा¥यौं।

हामीले प्यानल बनाएर चुनावमा भाग लिएको कुरा पञ्च, प्रशासकहरुलाई पनि थाहा थियो। हामीले पनि आफूलाई प्रतिबन्धित नेपाली कांग्रेसको उम्मेदवार भनेरै चिनारी गराएका थियौं। यद्यपि, चुनावमा प्यानल बनाएर उठ्नु अघि पञ्चायतका केही मानिसहरुले मलाई एउटा आश्वासन दिएका थिए, तपाई पूर्णकुमार शेर्माको टिमबाट होइन, हाम्रो टिममा आएर चुनावमा उठ्नुस्, तपाईलाई हामी जिताउनेछौं। पञ्चहरुले सभापतिमा अइन्द्रविक्रम थाम्सुहाङलाई उठाएका थिए र मलाई उनकै प्यानलको उपसभापतिमा उठ्न भनिएको थियो। लावतीसँग नजिक भएका कतिपय मानिसहरुले मलाई पनि मन पराउँथे। उनीहरुले भन्थे, ‘दीपकजी, तपाईंजस्ता मानिस हामीलाई चाहिन्छ, तपाई अइन्द्रविक्रमको टिममा रहेर चुनाव उठ्नुस।’

मैले उनीहरुलाई भनें, ‘अइन्द्रविक्रमजी, लावतीजीको मानिस हुनुहुन्छ, उहाँले लावतीजीले जे भन्नुहुन्छ त्यही मान्नु हुन्छ। म भने लावतीजीको विरोधी परें। त्यसैले मैले उहाँको टिममा बसेर चुनाव जित्नुको कुनै अर्थ हुँदैन। बरु उपसभापतिमा हार्न तयार छु, तर जित्नकै लागि सम्झौतागर्न तयार छुइनँ।’

२०३९ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भयो। त्यो निर्वाचनमा हामीले पद्मसुन्दरका विरुद्धमा मानबहादुर जवेगुलाई समर्थन ग¥यौं। हामीले प्रतिबन्धित नेपाली काँग्रेसको समर्थन जवेगुलाई छ, उहाँलाई चुनाव जिताऔं भनेर घोषणा ग¥यौं र उहाँलाई चुनाव जिताउन सघायौं पनि। तर, जवेगुले चुनाव हार्नुभयो र लावतीले जित्नुभयो।

(माथि उल्लेखित अंश पूर्व गृहराज्य मन्त्री डा. दीपकप्रकाश बास्कोटाको आत्मकथा निष्ठाको यात्राबाट लिईएको हो। निष्ठाको यात्रा साउन १२ गते बिहीवार लोकार्पण हुँदैछ।)

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।