सुर्खेत। जिल्ला समन्वय समिती सुर्खेतमा नेकपा एमाले र नेकपामा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । शुक्रबार भएको समनव्य समिति निर्वाचनमा एमालेका गंगाराम सुनार प्रमुखमा विजयी भएका हुन्। सुनारले १० मत प्राप्त गरे। यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका सचिनकुमार बडुवाल निर्वाचित भएका छन्।
सुर्खेतका ९ ओटा स्थानीयतहबाट १८ जना मतदाता भएको जिल्ला समन्वय समितिमा कसैको पनि स्पष्ट बहुमत नभएकाले एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका हुन्। एकमात्र मतदाता भएको माओवादी केन्द्रले ९ जना मतदाता भएको एमालेसँग गठबन्धन गरेपछि उपप्रमुख र थप दुई सदस्य पाएको छ। काँग्रेससँग ८ मतदाता थिए।
समन्वय समितिको महिला सदस्यमा चन्द्रा धामी, शान्ति तारम र मीना मल्ल तथा अन्य सदस्यमा तुलबहादुर नेपाली, डिल्ली पाण्डे र पृथ्वीबहादुर बुढा तथा अल्पसंख्यकमा सावित्रा टमाटा निर्वाचित भएका छन् ।
निर्वाचनमा कांग्रेसका उम्मेदवारले ८ मत पाएका छन्। कांग्रेसले पाँच पदमा मात्रै उम्मेदवारी दिएको थियो । काँग्रेसका तर्फबाट प्रमुखमा दिलिपकुमार वाग्ले र महिला सदस्यहरुमा गौरी दमाई र रत्ना कँडेल, अन्यमा लीलाजंग शाह र अल्पसंख्यकमा उजिरसिंह कामीले उम्मेदवारी दर्ता गरेका थिए।
२०७४ सालको निर्वाचनमा जिल्ला समन्वय समिति सुर्खेतमा कांग्रेसले एकलौटी नेतृत्व गरेको थियो ।p>