जब तिमी याद बनेर आउँछौ,
जब तिमी विश्वास बनेर आउँछौ,
मलाई लाग्छ,
तिमी मेरो अनमोल प्रेमको रत्न हौ।
भेरी किनारको चिसो सिरेटोमा पनि,
बजारको उखरमाउलो गर्मीमा पनि,
जब तिम्रो याद आउँछ,
मलाई स्पर्श गर्न सक्दैन बर्षात पनि।
आँखा चिम्लिदा पनि तिमी देखिन्छौं,
आँखा खोल्दा पनि तिमी देखिन्छौं,
मेरो सिंगो संसार बनेछौ,
मैले पुज्ने ईश्वर भन्दा माथि देखिन्छौं।
तर बिडम्बना!
तिमी र म बीच देखिएको बञ्चरे डाँडा,
तिमी र म बीच भेटिएको बिझाउने काँडा,
नजिक आउन नपाएर के भो?
विश्वास त मर्दैन मानिस भएनि टाढा।
बस्!
मैले जस्तो तिमीले बाँच्न नपरोस्,
मैले जस्तै पागल प्रेम साँच्न नपरोस्,
रमाउनलाई आफ्नै संसार छ तिम्रो,
मैले जस्तो धड्कन रोकी बाँच्न नपरोस्।
त्यसैले!
म आफ्नै विश्वास बनेर बाँच्न चाहान्छु,
आजकाल म ‘म’ भएर बाँच्न चाहान्छु,
र तिमीलाई थाहा हुनुपर्छ,
मलाई म हुन तिमी चाहिन्छ।