यसपटकको स्थानीय तह निर्वाचनमा विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर पदमा समिक्षा बास्कोटालाई उम्मेदवार बनायो। आन्तरिक विवादमा रुमल्लिनु परेपछि विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनको तयारी पनि निकै ढिला गरि सुरु गरेको थियो। पार्टीको केन्द्रीय नेतृत्व तहमै भएका नेताहरु निर्देश सिलवाल, सस्मित पोखरेल, बागमती प्रदेशका सांसद विराज भक्त श्रेष्ठ, समुन्द्र केसी लगायतले समिक्षाका विरुद्ध मोर्चाबन्दी सुरु गरे र देशकै राजधानी महानगरको मेयरपदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहलाई समर्थन गरे। आन्तरिक विवादमा फसेको पार्टी, पार्टीले खडा गरेको उम्मेदवार विरुद्ध पार्टीकै नेताहरुले स्वतन्त्र उम्मेदवारलाई गरेको समर्थन, शून्य संगठनका बीच समिक्षाले पार्टी निर्णय बमोजिम उम्मेदवारी दर्ता गरिन र राजधानीका गल्ली गल्लीमा नारा स्थापित गरिन- राजधानीको फोहर पनि सफा गर्नु छ, राजनीतिको फोहोर पनि सफा गर्नु छ।
महानगरको मेयरका रुपमा समिक्षासँग योग्यता, क्षमता, राजनीतिक शालीनता जस्ता आवश्यक सबै कुराहरु थिए तर दुर्भाग्य उनीसँग टिम थिएन। महानगरको समग्र चुनावी अभियानको नेतृत्व पार्टीकी नेतृ अनुपा श्रेष्ठले गरेको भएपनि मुलतः समिक्षाको चुनावी अभियानलाई पार्टीका नेता चोकराज घिमिरे, आशिष जोशी रेग्मी र म स्वयंले नेतृत्व गर्यौं। यो टिम देशकै राजधानी महानगरको चुनावी रणनीति र चुनावी अभियान सम्पन्न गर्न पर्याप्त थिएन किनकी यो एउटै टिमले रणनीति बनाउनु पर्थ्यो, प्रचार सामाग्री तयार पार्नुपर्थ्यो, फिल्डमा खटिनु पर्थ्यो, समिक्षाको व्यस्त समयको व्यवस्थापन समेत गर्नुपर्थ्यो। एउटा सानो टिम, ठूलो राजधानी अनि थुप्रै प्रतिकुलताका बाबजुद चुनावी अभियानमा होमिदा समिक्षा स्वयंपनि परिणामको सामना गर्न तयार थिइन्।
चुनावी अभियानका क्रममा भएका थुप्रै सार्वजनिक बहसका मञ्चहरुबाट समिक्षाले आफू सबैभन्दा अब्बल उम्मेदवार भएको प्रमाणित गरिसकेकी थिईन। अझ पछिल्ला दिनहरुमा त चर्चामा रहेका अन्य उम्मेदवारहरु समिक्षासँग सार्वजनिक बहसमा आउनै डराएका विषयहरु पनि बाहिर आए।
प्राराम्भिक मतपरिणामहरु हेर्दा अत्यन्तै निराशाजनक हुँदापनि समिक्षाको आत्मविश्वास डगमगाएको छैन। उनी भन्छिन् हाम्रै ५ वर्षको प्रयासले यसपटक राजधानीले मन परिवर्तन गरेको छ, यद्यपि मत परिवर्तनका लागि हाम्रो यसपटकको प्रयास पूर्णतः सफल हुनसकेन।
यसपटकका लागि राजधानी शहरमा नेवाः सभ्यताको पुनर्जागरण गर्ने समिक्षाको योजनामा ठेस पुगेको छ, राजधानीको गौरव पुनस्र्थापित गर्ने समिक्षाको लक्ष्यमा बिराम लागेको छ अनि देशको राजधानीलाई सुरक्षित महिलामैत्री शहर बनाउने समिक्षाको संकल्प अपूर्ण भएको छ। यद्यपि समिक्षा यत्तिकै चुपचाप बस्ने छैनन्। राजधानीको फोहर सफा गर्ने नेतृत्वमा उनी पुग्न नसकेपनि राजनीतिको फोहोर सफागर्न उनी निकै सक्रिय हुनेछिन्।किनकी आफ्नै जीवनकालमा यो देश रुपान्तरण गर्ने हुटहुटीले उनी राजनीतिको फोहोर पोखरीमा हाम फालेकी हुन्।
त्यसो त यसपटक समिक्षाको चुनावी अभियानमा होमिएको उनको टिमपनि यत्तिकै बस्दैन। आफ्नो सानो टिम लिएर राजधानी महानगरमा आफ्नो परिचय स्थापित गरिसकेकी समिक्षा आफैमा राजनीतिक जागरण र डेलीभरिको राजनीति गर्नेहरुका लागि पोलिटिकल ब्राण्ड हुन्।
समिक्षा र देशभरका उम्मेदवारहरुले प्राप्त गरेको परिणामबारे पार्टीले गम्भिर समिक्षा त गर्ला नै। समिक्षाको चुनावी अभियानको एकजना नेतृत्वकर्ताको हैसियतले मैलै सार्वजनिक रुपमै समिक्षाको अंक गणितीय पराजयको नैतिक जिम्मेवारी लिईसकेको छु, यसबारे पनि पार्टीले आवश्यक निर्णय गर्ला नै तर आज समिक्षाको अंकगणितीय पराजयको जिम्मा लिँदा समिक्षा, समिक्षाको टिम र पार्टी नेतृत्वसँग गरेको प्रतिवद्धता के हो भने हामीले यसपटक समिक्षा सक्षम छिन् भनेर परिचय स्थापित गर्यौं, आगामी चुनावमा समिक्षा सक्षम छिन भनेर प्रमाणित गर्नेछौं। आशा छ यो देशमा सक्षम महिला नेतृत्व स्थापित गर्ने राजनीतिक अभियानको पुनः नेतृत्व गर्न पाइनेछ। त्यो दिन प्रमाणित हुन्छ समिक्षा सक्षम छिन्। यसपटकका लागि समिक्षाप्रति सद्भाव राख्ने र समिक्षाको टिममा रहेका बसन्त तामाङ, उमेश भट्टराई, शितल भुषाल, हरि भण्डारी, टंक रेग्मी, चेतराज जोशी, बसन्ती ज्ञवाली र महेन्द्र ठकुरी समेतलाई हार्दिक धन्यवाद।