काठमाण्डौं। विवेकशील साझाको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। पार्टी मुख्यालय बखुन्डोलमा आइतबार केन्द्रीय समिति बैठक सम्पन्न भएको हो।
बैठकले गण्डकी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र अन्तर्राष्ट्रिय समितिका संयोजकहरु चयन गरेको छ। केन्द्रीय समिति बैठकले मधेश प्रदेशमा पार्टीका नेता धनपति महतो, बागमती प्रदेशमा सञ्जिव वल्लभ भट्टराई, गण्डकीमा सुशिला केसी अधिकारी र अन्तराष्ट्रिय समितिको संयोजकमा एस.के श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको छ।
आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै पार्टीले यसअघि गर्ने भनेको महाधिवेशन स्थानीय तहको निर्वाचनपछि गर्ने निर्णयपनि गरेको छ।
यसअघि केन्द्रीय कार्य सम्पादन समितिको बैठकले कारवाहीको लागि सिफारिस गरेका २६ जना केन्द्रीय सदस्यको भूमिका परिवर्तन गर्ने निर्णयपनि अनुमोदन गरेको छ। यस्तै बैठकले केन्द्रीय सदस्यहरु गोपी हमाल र शान्ती ढुंगानाको राजिनामा स्वीकृत समेत गरेको छ।
बैठकमा पछिल्लो समय सञ्चार माध्यममा चर्चामा आएको राप्रपा विवेकशील साझा एकता सम्बन्धमा १ दर्जन केन्द्रीय सदस्यहरुले अध्यक्ष रवीन्द्र मिश्रको धारणा मागेका थिए। तर, एजेन्डामा नभएको विषय छलफल गर्न आवश्यक नभएको भन्दै अध्यक्ष मिश्रले एजेण्डामा उल्लेखित विषयहरु मात्रै बैठकमा छलफल गर्न आग्रह गरेपछि बैठक सम्पन्न भएको हो।