सुर्खेत। सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुनाको सेवा विस्तारका लागि सिविएम जर्मनीको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योति संघले करिव ३५ लाख बराबरको उपकरण हस्तान्तरण गरेको छ । मेहेलकुना स्थित सामुदायिक आँखा उपचार केन्द्रको भवनमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि उपकरण हस्तान्तरण गरिएको हो।
नेत्रज्योति संघले आँखाको मोती विन्दुको शल्यक्रिया लगायतका उपचार विधिमा अत्यावश्यक पर्ने सर्जिकल माइक्रोस्कोप १ थान, पोर्टेबल बायोमेट्री वीद ए स्क्यान १ थान, ओटी टेबल २ थान, बेड २० थान, अटो क्लेभ १ थान, आर एल स्ट्यान्ड २ थान, असिस्ट टेबल २ थान र इन्स्ट्रुमेन्टस १० थान हस्तान्तरण गरेको छ।
कार्यक्रममा सिबिएम प्रतिनिधि रोश्ना कँडेलले मेहेलकुना आँखा उपचार केन्द्रले प्राप्त उपकरणको समुचित प्रयोग गर्दै कर्णाली प्रदेशको दक्षिणपूर्वी भेगका मानिसहरूलाई आँखामा कुनै समस्या भए नेपालगंज वा ठुला शहरहरुमा जानुपर्ने बाध्यता हट्ने धारणा राखिन।
उपकरण हस्तान्तरण कार्यक्रममा नेपाल नेत्रज्योति संघ कर्णालीका प्रोजेक्ट म्यानेजर मान बहादुर कुँवरले हस्तान्तरण गरिएका उपकरणहरूको उचित सदुपयोग गरेर यस क्षेत्रका मानिसहरूको आँखाको समस्या र मोतिबिन्दुको शल्यक्रिया पश्चात अन्धोपनको न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उपकरण हस्तान्तरण कार्यक्रमकी प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क.ले आँखा उपचार केन्द्रको वृत्तिविकास र यसको प्रभावकारी सञ्चालनका लागि थुप्रै भौतिक संरचनाको निर्माण गर्नु आवश्यक भएको बताउँदै स्थानीय सरकारका तर्फबाट यस्को विकासका लागि गर्नुपर्ने सबैखाले कामहरुमा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्र गरिन।
कार्यक्रममा सामुदायिक आँखा उपचार केन्द्रका संयोजक बिर्ख बहादुर सार्कीले फत्तेबाल आँखा अस्पतालको सानो युनिटको रुपमा स्थापना भएको आँखा उपचार केन्द्र आज सर्जिकल सेन्टरसम्म आइपुग्दा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे।