सुर्खेत। नेकपा एमाले सुर्खेतले पार्टी विरोधी गतिविधिमा सामेल नहुन नेता कार्यकर्तालाई निर्देशन दिएको छ। एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन पछि सोमवार बसेको सचिवालयको पहिलो बैठकले पार्टीले निर्णय नै नगरेका, पार्टीका तहगत कमिटीबाट सूचना प्रेसित नभएका भेला तथा बैठकहरू अवैधानिक भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुन निर्देशन दिएको हो।
कर्णाली प्रदेशको प्रथम अधिवेशन प्रतिनिधि छनौटका लागि प्रतिनिधि सभा क्षेत्र नं. २ (क) मा केही व्यक्तिहरूले समानान्तर भेला गरि प्रतिनिधि छनौट गरेको विषयमा जिल्ला कमिटीको गम्भिर ध्यानाकर्षण भएको बैठक पछि अध्यक्ष अमृत वि.सीले जारी गरेको विज्ञप्तिमा जनाईएको छ।
माघ २८ र २९ गते हुने कर्णाली प्रदेशको प्रथम अधिवेशनका लागि माघ ८ गते प्रतिनिधि सभा क्षेत्र नं. १ (क) को बोटेचौर, १ (ख)को छिन्चु, र प्रतिनिधि सभा क्षेत्र नं. २ (क) को वीरेन्द्रनगर भैरवस्थान, २ (ख) को कुनाथरीमा प्रतिनिधि छनौट व्यवस्थापन समितिले प्रक्रियागत ढंगले गरिएका भेला र निर्णयबाट छानिएका प्रतिनिधिहरुनै आधिकारिक प्रतिनिधि हुने निर्णय गरिएको एमाले सुर्खेतका सचिव कविन्द्र कुमार केसीले बताए।
जिल्ला कमिटीका अध्यक्ष बि.सीको अध्यक्षतामा बसेको बैठकमा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नवराज रावत र केन्द्रीय सदस्य तथा जिल्ला सह इन्चार्ज मोहनमाया ढकाल समेतको उपस्थिति थियो।