राष्ट्रिय सभा निर्वाचन: कर्णालीबाट कस्को पल्लाभारी?  

पढ्नै पर्ने

सुर्खेत। माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यका लागि कर्णाली प्रदेशबाट ६ जनाले मनोनयन दर्ता गराएका छन्। निर्वाचनका लागि कर्णाली प्रदेशबाट एमालेका तीन जना र सत्ता गठबन्धन दलबाट तीन जनाले उम्मेदवारी दिएका छन्।

हाल कर्णाली प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिरहेका रूकुम पश्चिमका खगेन्द्र पुरी, हुम्लाका कविता बोगटी र कालीकोटका जीवन बुढाको पदावधि सकिने भएकाले कर्णाली प्रदेशमा खुला, महिला र अपांगता वा अल्पसंख्यक तर्फको सदस्य पद रिक्त हुँदैछ।

यसपटक रिक्त हुने तीन पदका लागि नेकपा एमालेबाट महिलामा जुम्लाकी गङ्गा थापा महत, खुलामा सुर्खेतका चुडामणि शर्मा र अपांगता वा अल्पसंख्यक कोटामा दैलेखका पदमबहादुर माझीले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा एमालेले एकलौटी उम्मेदवारी दिएपछि सत्तागठबन्धन दलहरूले भागबन्डा अनुसार उम्मेदवारी दिएका छन्। जसअनुसार कर्णालीमा महिलातर्फ नेपाली कांग्रेस, अपांगतातर्फ माओवादी केन्द्र र खुलामा नेकपा (एकीकृत समाजवादी) ले भाग पाएका छन्।

महिलातर्फ कांग्रेसले सुर्खेतकी दुर्गाकुमारी गुरुङलाई उम्मेदवार बनाएको छ। माओवादी केन्द्रले अपांगतातर्फ सुर्खेतका नरबहादुर विष्टलाई र खुलातर्फ नेकपा एकीकृत समाजवादीले सल्यानका उदय बोहरालाई उम्मेदवार बनाएको छ।

कर्णाली प्रदेशमा राष्ट्रिय सभा सदस्य चुनावमा मतदान गर्न जम्मा १९१ मतदाता छन्। उनीहरूको मतभार ४ हजार ४८८ छ।
मतदातामध्ये ३५ जना प्रदेश सभा सदस्य छन्। प्रदेश सभा सदस्यको मतभार एक जना बराबर ४८ हुन्छ। यस्तै एक जना बराबर १८ मतभार हुने स्थानीय तहका प्रमुख र उपप्रमुखहरूको संख्या १५६ छ।

कसको पल्लाभारी?
कर्णालीमा नेकपा माओवादी केन्द्रको स्थानीय तहतर्फ ५२ जना र १२ जना प्रदेश सभा सदस्य छन्। यसरी हेर्दा राष्ट्रिय सभा सदस्यका लागि कर्णालीमा माओवादीको मतभार १ हजार ५ सय १२ हुन्छ।

यस्तै नेकपा एमालेका ४५ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् भने प्रदेशमा १३ जना सांसद् छन्। जसअनुसार एमालेको मतभार कर्णालीमा १ हजार ४३४ मतभार हुन्छ।

स्थानीय तहका प्रमुख र उपप्रमुख नेपाली कांग्रेसका ४१ जना छन्। कांग्रेसका प्रदेश सभा सदस्य ६ जना छन्। जसअनुसार कांग्रेसका राष्ट्रिय सभा सदस्यका लागि मतभार १ हजार २६ हुन्छ।

एकीकृत समाजवादीका १३ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् भने ३ जना प्रदेश सभा सदस्य छन्। यसरी समाजवादीको मतभार कर्णालीमा ३७८ हुन्छ।

गठबन्धन अनुसार एकलौटी मत खसेमा सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार बनेका एक जना उम्मेदवारले २ हजार ९१६ मत पाउँछन्।

कर्णाली प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना सदस्य छन्। राष्ट्रिय सभामा ४८ मतभार भएको राप्रपाले भने कर्णाली प्रदेशबाट उम्मेदवारी दिएको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।