स्थानीय तहको कृषि प्रसार सेवा प्रवाह क्षमता अभिवृद्धि गरिदै

पढ्नै पर्ने

सुर्खेत। गुर्भाकोट नगरपालिका अन्तर्गतका कृषि तथा पशु शाखाहरुको विद्यमान सेवा प्रवाह क्षमताको सहभागितामूलक मुल्यांकन गरिएको छ। नगरपालिका कार्यालयमा बिहीवार कृषि क्षेत्र विकास कार्यक्रमले एक कार्यक्रमको आयोजना गरि कृषि विकास शाखा र पशुपन्छी विकास शाखाको सेवा प्रवाह क्षमताको स्वःमूल्यांकन गरेको हो।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमले कर्णाली प्रदेशका विभिन्न पालिका अन्तर्गतका कृषि विकास शाखा र पशुपन्छी विकास शाखाहरुको सेवा प्रवाह क्षमताको स्वःमुल्यांकन गरिरहेको छ। विद्यमान सेवा प्रवाह क्षमताको विश्लेषणको नतिजाको आधारमा कार्यक्रमले स्थानीय तहका कृषि र पशुपन्छी विकास शाखाको क्षमता विकासमा सहयोग पुर्याउने कार्यक्रमको उद्देश्य रहेको छ।

मानव संसाधन, सुशासन, योजना तर्जुमा, कृषि प्रसार सेवा प्रवाह संयन्त्र, विभिन्न निकायसंगको साझेदारीहरू, ज्ञान व्यवस्थापन, लजिस्टिक व्यवस्थापन तथा कानुनी र नीतिगत प्रावधानहरू गरी जम्मा ८ वटा सूचक र २० वटा सहायक सूचकहरुको आधारमा गरिएको विश्लेषण अनुसार गुर्भाकोट नगरपालिकाले ७० प्रतिशत (औशत अंक २.८) प्राप्त गरेको छ । प्राप्तांकको आधारमा पालिकाका शाखाहरुको सेवा प्रवाह क्षमता मध्यम (विकसित) तहको देखिएको छ। आगामी दिनमा सेवा प्रवाह क्षमता अभिवृद्धिका लागि छुट्टाछुटै क्षमता विकास योजना समेत तयार गरिएको छ ।

यसअघि कार्यक्रमले सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकामा शाखाहरुको विद्यमान सेवा प्रवाह क्षमताको सहभागितामूलक स्वःमुल्यांकन गरिएको थियो।

कार्यक्रमले विशेष गरी कृषि र पशु सेवामा संलग्न कर्मचारीको क्षमता विकास र सेवा प्रवाहसंग प्रत्यक्ष जोडिने कृषि औजार उपकरण र मेसिनरीहरुको लागि सहयोग उपलब्ध गराउने छ। कृषि क्षेत्र विकास कार्यक्रमका कर्मचारीहरुको सहजीकरणमा सम्पन्न गरिएको उक्त कार्यक्रममा सम्बन्धित नगरपालिका नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, आर्थिक विकास समिति सदस्यहरु, शाखाका कर्मचारीहरु साथै कृषि क्षेत्र विकास कार्यक्रमका वरिष्ठ कृषि प्रसार तथा संस्थागत विकास विज्ञको उपस्थिति थियो भने कार्यक्रमको सहजीकरण कृषि क्षेत्र विकास कार्यक्रमका फिल्ड कृषि अधिकृत कृष्ण लम्सालले गरेका थिए ।

कृषि क्षेत्र विकास कार्यक्रम हुम्ला र डोल्पा बाहेक कर्णाली प्रदेशका ४७ वटा पालिकामा संचालित छ । कार्यक्रम संचालनका लागि कृषि क्षेत्र विकास कार्यक्रम र पालिका बीच यस अघि नै समझदारी समेत भइसकेको छ।

कार्यक्रमले नाफामूलक कृषि मूल्य श्रृङ्खला बाली वस्तुको पहिचान तथा छनोट, बाली वस्तुको मूल्य श्रृङ्खला विकासको लागि सह–लगानी, मूल्य श्रृङ्खलामा प्रत्यक्ष जोडिने सामुदायिक तथा सार्वजनिक पूर्वाधार निर्माणमा सह–लगानी, ग्रामीण वित्तीय सेवाको विकास, कर्जा पहुँचमा सहजीकरण एवं स्थानीय तहमा सहभागितामूलक तथा बहुपक्षीय कृषि प्रसार सेवाको संस्थागत विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!