सर्वाधिक मतसहित उप-सभापतिमा खड्का विजयी

पढ्नै पर्ने

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको उपसभापति पदको निर्वाचनमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन्। बुधवार राति भएको मतगणनामा सभापति शेरबहादुर देउवाको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिएका खड्का र नेता शेखर कोइराला समुहबाट उम्मेदवार रहेका गुरुङ विजयी भएका हुन्।

उपसभापतिमा निर्वाचित खड्काले सर्वाधिक २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरे। नेपाली काँग्रेसको विधान अनुसार सबै भन्दा धेरै मत प्राप्त गर्ने दुईजना उपसभापति निर्वाचित हुने व्यवस्था छ।

उपसभापति पदकै लागि देउवा पक्षका अर्का उम्मेदवार विजय गच्छदार भने गुरुङसँग २ मतअन्तरले मात्रै पराजित भएका छन्। उनले १९०६ मत प्राप्त गरेका छन्।

त्यस्तै उपसभापतिका अर्का उम्मेदवार चन्द्र भण्डारीले १५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरेका छन्।

काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना भने बिहीबार बिहानदेखि सुरु हुने जनाइएको छ।  १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मत परिणाम भने यसअघि नै सार्वजनिक भइसकेको छ। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।