कर्णालीको कृषि प्रसार सेवामा नयाँ फड्को

पढ्नै पर्ने

सुर्खेत। भेरीगंगा नगरपालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना तथा संचालन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकार कृषि तथा पशुपन्छी विकास अन्तर्गत संचालित कृषि क्षेत्र विकास कार्यक्रम (ASDP) को आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

संविधानतः कृषि प्रसार कार्यक्रमको संचालन, व्यवस्थापन र सोको नियमन सम्बन्धी अधिकार र जिम्मेवारी स्थानीय सरकारमा निहीत रहेको भएता पनि आवश्यक जनशक्तिको कमि, भौगोलिक अवस्था र जनसंख्याको आकार तथा कृषि प्रसार सेवाको बढ्दो माग अनुसार स्थानीय तह एक्लैले मात्र कृषि प्रसार सेवाको मागलाई सम्बोधन गर्न नसक्ने विध्यमान अवस्थामा स्थानीय कृषक तथा सेवा प्रदायकहरुको अग्रसरता, सहभागिता र अपनत्वमा नै कृषि प्रसार सेवा प्रवाह संयन्त्रको स्थापना गरी कृषकहरुलाई स्थानीय स्तरमा नै सहज रुपमा कृषि प्रसार सम्बन्धी सामुदायिक र व्यावसायिक सेवा प्रवाहको लागि आधारशिला तयार गर्ने उद्देश्यले यस्ता सामुदायिक कृषि प्रसार सेवा केन्द्रहरु यस कार्यक्रम र स्थानीय तहहरुको साझेदारीमा स्थापना गर्न लागिएको कृषि क्षेत्र विकास कार्यक्रमका कार्यक्रम संयोजक भोजराज सापकोटाले बताए।

कृषि क्षेत्र विकास कार्यक्रम र भेरीगंगा नगरपालिकाको सह लगानीमा वडा नं ८ मैनतडा केन्द्र हुनेगरी र वडा नं. ११ रामघाट केन्द्र हुने गरी २ वटा सामुदायिक कृषि प्रसार सेवा केन्द्रहरु स्थापना हुन लागेका हुन। यी दुई वटा केन्द्रहरुबाट पालिकाका अन्य वडाहरु वडा नं. ६, ७, ९, १२ र १३ का केहि टोल तथा बस्तीहरुलाई समेत सेवा प्रवाह गर्न सकिने छ ।
उक्त अभिमुखीकरण कार्यक्रम नगर स्तरीय कृषि विकास समितिका संयोजक कर्ण बहादुर मिजारको अध्यक्षता र नगरप्रमुख भुपेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, प्राविधिक कर्मचारीहरु, स्थानीय सेवा प्रदायकहरु र अगुवा कृषकहरुको सहभागिता रहेको थियो।

कर्णाली प्रदेशका ८ जिल्ला (हुम्ला र डोल्पा बाहेक) का ४७ वटा पालिका र कृषि क्षेत्र विकास कार्यक्रम बीच समझदारी भै कार्यक्रमले नाफामूलक कृषि मूल्य शृंखला बाली वस्तुको पहिचान तथा छनोट, बालीवस्तुको मूल्य शृंखला विकासको लागि सह लगानी, मुल्य शृंखलासंग प्रत्यक्ष जोडिने सामुदायिक तथा सार्वजनिक पूर्वाधार निर्माणमा सहलगानी, ग्रामिण वित्तीय सेवाको विकास, कर्जा पहुँचमा सहजीकरण एवं स्थानीय तहमा सहभितामुलक तथा बहुपक्षीय कृषि प्रसार सेवाको संस्थागत विकासमा सहयोग आएको छ ।

कार्यक्रमको सहयोग तथा सहजीकरणमा हालसम्म सुर्खेतको लेकबेशी नगरपालिकामा २, दैलेखको भगवतीमाई गाउँपालिकामा २, जाजरकोटको नलगाड नगरपालिकामा १, रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा १ र सल्यानको सिद्धकुमाख गाउँपालिकामा १ गरी जम्मा ७ वटा सामुदायिक कृषि प्रसार केन्द्रहरु स्थापना गरिएको छ भने आ.व. २०७८ र ०७९ मा विभिन्न पालिकामा गरी थप ४३ केन्द्रहरु स्थापना गर्ने लक्ष्य लिइएको छ ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!