सुर्खेत। गुर्भाकोट नगरपालिकास्थित सूर्य ज्योति माध्यामिक विद्यालयमा मानव बेचविखन तथा महिला हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेशको आयोजनामा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा मन्त्रालयका उपसचिव विरेन्द्र बहादुर केसीले मानव बेचविखनको प्रकृति फेरिएको भएपनि नरोकिएको बताए। मानव बेचविखनमा संलग्नहरूलाई कानूनले दण्ड दिने व्यवस्था गरेको भनेर बस्नु भन्दा आफै सजग र सचेत बन्नुपर्ने उपसचिव केसीको भनाई थियो।
उपसचिव केसीले सूर्य ज्योति मा.वि.का कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूलाई मानव बेचविखन र ओसारपसारका रुप, प्रकृति र यसबाट सचेत बन्ने उपायबारे बताए। कार्यक्रममा मन्त्रालयका कानून अधिकृत सबिन गुरुङ्गले लैंगिक हिंसाका सम्बन्धमा आफ्नो प्रस्तुती दिएका थिए। झण्डै १ सय विद्यार्थी सहभागी कार्यक्रमको सहजीकरण मन्त्रालयका नायब सुब्बा विष्णु गौतम र कमल सापकोटाले गरेका थिए।
यसैबीच मन्त्रालयले आजै सरस्वती आधारभूत विद्यालय गुर्भाकोट ८ मा समेत मानव बेचविखन तथा बालविवाह न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम समेत सम्पन्न गरेको छ। कार्यक्रममा मन्त्रालयका नायब सुब्बा कमल सापकोटा र कानून अधिकृत सबिन गुरुङ्गले मानव बेचविखन तथा बालविवाह न्यूनिकरण सम्बन्धी प्रस्तुती दिएका थिए।