मलाई पूर्णबहादुर खड्का र जनार्दन शर्माले मुख्यमन्त्री बनाएका हुन्ः शाही

पढ्नै पर्ने


सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन बहादुर शाहीले आफू काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का र माओवादी केन्द्रका नेता जनार्दन शर्माको सहयोगमा मुख्यमन्त्री बनेको खुलासा गरेका छन्। शनिवार बिहान नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मुख्यमन्त्री शाहीले राष्ट्रिय राजनीतिमा गठबन्धन बन्नु भन्दा पहिले नै कर्णालीमा गठबन्धन बनेको बताए।

तत्कालीन नेकपामा विभाजन आई तत्कालीन मुख्यमन्त्री महेन्द्र बहादुर शाही अल्पमतमा परेपछि, मेहन्द्र बहादुर शाही, प्रकाश ज्वाला र आफूबीच भएको छलफललाई निर्णायक मोडमा पुर्याउन कांग्रेस महामन्त्री खड्काले सबै भन्दा बढी मेहनत गरेको मुख्यमन्त्री शाहीले बताए। कर्णालीमा महेन्द्र बहादुर शाहीको सरकार जोगाउन विश्वासको मत दिनेबारे छलफल भएसँगै महामन्त्री खड्का र माओवादी केन्द्रका नेता जनार्दन शर्माले शीर्ष नेतृत्वसँग संवाद गरेको मुख्यमन्त्री शाहीको भनाई छ।

महामन्त्री पूर्ण बहादुर खड्काले सहयोग नगरेको भए कर्णाली प्रदेश सभामा एक सिट मात्र प्रत्यक्ष चुनाव जितेको आफू मुख्यमन्त्री बन्न असम्भव नै भएको शाहीले बताए। 

निवर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले सत्ता हस्तान्तरण गर्नुअघि सञ्चार माध्यममा केन्द्रीय गठबन्धनको शीर्ष नेतृत्वले कर्णालीमा सरकारको नेतृत्व परिवर्तनका लागि इच्छा नदेखाएको भन्ने समाचार प्रति टिप्पणी गर्दै मुख्यमन्त्री शाहीले केन्द्रमा गठबन्धन बन्नुपूर्व नै कर्णालीमा राजनीतिक सहमति भएकाले कांग्रेसले सत्ताको नेतृत्व गर्ने अवसर पाएको प्रष्ट पारे। निवर्तमान मुख्यमन्त्रीले देखाएको सहज सत्ता हस्तान्तरणको मुख्यमन्त्री शाहीले प्रशंसा गरे।

संवादका क्रममा मुख्यमन्त्री शाहीले आफ्नो कार्यकाल छोटो भएकाले पूर्ववर्ती प्रदेश सरकारले गरेका राम्रा कामको निरन्तरता र सडक सञ्जालले कर्णालीका जिल्लाहरू जोड्ने काम आफ्नो पहिलो प्राथामिकतामा पर्ने बताए।

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।