Sunday, December 8, 2024
spot_img

गुर्भाकोटमा नयाँ सहकारी, कृषिमा नयाँ आयाम थप्ने लक्ष्य

सुर्खेत। गुर्भाकोट नगरपालिकामा नयाँ सहकारी संस्थाको स्थापना गरिएको छ। गुर्भाकोट कृषि सहकारी संस्था लिमिटेडको बिहीवार नगर प्रमुख हस्त पुनले उद्घाटन गरे। गुर्भाकोट नगरपालिकाको वडा नं ८ मेहेलकुना बजारमा मुख्य कार्यालय राखी स्थापना भएको सहकारीले बचत तथा ऋण र कृषिका क्षेत्रमा काम गर्ने छ। 

संस्थाको उद्घाटन समारोहमा बोल्दै मेयर पुनले कृषिका क्षेत्रमा नजिता आउने गरि काम गर्ने लक्ष्य लिएका र सम्भावना बोकेका सहकारी संस्थाहरूलाई आवश्यक सहयोग गर्न, सहकार्य गर्न र साझेदारी गर्न नगरपालिका तयार रहेको प्रतिवद्धता व्यक्त गरे। यद्यपि कुनैपनि सङ्घसंस्थाले नगरवासीको हितका योजना बनाएर ल्याउनुपर्ने र नतिजामुखी कार्य गर्न आवश्यक हुने पुनको भनाई छ। 

समारोहमा मन्तव्य राख्दै गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना वि.क.ले सरकारको तीन खम्बे आर्थिक निती अन्तर्गतको महत्वपूर्ण खम्बा सहकारी भएको भन्दै सहकारीहरुले पारदर्शिता र उद्यमशीलतामा जोडदिनुपर्ने धारणा राखिन। यस्तै गुर्भाकोट नगरपालिका अन्तर्गत वडा नं. ८ का अध्यक्ष चित्रबहादुर रेग्मीले सहकारीहरु सञ्चालक समितिमुखी नभई आम उपभोक्ता र शेयर सदस्यप्रति उत्तरदायी हुनुपर्ने बताए। कतिपय वित्तीय संस्थाहरूमा दुइ चार जनाले हालीमुहाली गर्ने र सदस्यहरू माझ सहकार्यको भावना नहुने समस्याको विकास हुँदै जानु दुखद भएको भन्दै रेग्मीले गुर्भाकोट कृषि सहकारी संस्था साँच्चिकै किसानहरूको संस्था बनोस भन्ने कामना गरे।

कार्यक्रममा संस्थाका प्रबन्धक प्रेम डि.सीले सहकारीको आगामी कार्ययोजना सहितको मन्तव्य राखेका थिए। समारोहलाई गुर्भाकोट ६ का वडाध्यक्ष धनीराम जैशी, समाजसेवी लक्ष्मी प्रसाद शर्मा, विरजित नेपाली, सञ्चार उद्यमी रेडियो आरम्भ ९७.५ एफ.एम.का कार्यकारी निर्देशक सूर्यदीप रेग्मी लगायतले सम्बोधन गरेका थिए। संस्थाका सचिव तिलक पौडेलले स्वागत मन्तव्य दिएको उद्घाटन कार्यक्रम संस्थाकी उपाध्यक्ष प्रभा थापाको सभापतित्व सम्पन्न भएको हो।

यसैबीच आजै बसेको संस्थाको प्रारम्भिक साधारण सभाले ९ सदस्यीय सञ्चालक समिति चयन गरेको छ। संचालक समितिको अध्यक्षमा धनीराम जैशी, उपाध्यक्ष प्रभा थापा मगर, सचिव तिलक पौडेल, कोषाध्यक्ष लोकेश रोकाय, सहसचिव रेश्मा खत्री र सदस्यहरुमा शर्मिला भण्डारी, दिनेश पौडेल, खेम गिरी र लक्ष्मी प्रसाद शर्मा रहेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!