सुर्खेत। गुर्भाकोट नगरपालिकामा नगरपालिका स्तरीय स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा आजदेखि सुरु भएको छ। आर्थिक वर्ष २०७७/७८ का स्वास्थ्य गतिविधिको समीक्षा गर्ने कार्यक्रम बुधवार सम्म चल्नेछ।
समीक्षा कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख हस्त पुनले कुनैपनि काममा सफलता शतप्रतिशत प्राप्त गर्न कठिन हुने भएपनि निरन्तर प्रयास भने जारी राख्नुपर्ने बताए। सीमित श्रोत साधनका बाबजुद कोभिड-१९ को महामारीका बीचमा स्वास्थ्य शाखाले गरेका कामको पुनले प्रशंसा गरे।
कार्यक्रममा नगर उपप्रमुख मैना वि.कले कोभिड-१९ को भयावह र डरलाग्दो महामारीकाबीच जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य शाखासँग सम्बन्धित कर्मचारीको प्रशंसा गरिन। उनले विना हतियारको सिपाही युद्ध मैदानमा गएजस्तै स्वास्थ्यका कर्मचारीहरू कोभिड-१९ विरुद्ध खटिएको र कोभिड न्यूनिकरण गर्न सघाउ पुर्याएको बताईन।
गुर्भाकोट नगरपालिकाको सामाजिक विकास समितिका संयोजक चित्र बहादुर रेग्मीले अघिल्ला वर्षहरूको तुलनामा स्वास्थ्य शाखाले गर्नुपर्ने कामहरु धेरै सुधार भएको बताए। रेग्मीले अघिल्लो वर्षको तुलनामा नगरपालिका भित्रको स्वास्थ्य क्षेत्रको भौतिक संरचना निर्माणमा उल्लेख्य प्रगती भएको जानकारी दिए।
समीक्षा कार्यक्रमको उद्घाटन समारोहमा सभापतिको भूमिकाबाट मन्तव्य दिदैँ प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खत्रीले नगरपालिका भित्रका अन्य विषयगत शाखाको तुलनामा स्वास्थ्य शाखाको काम र प्रगति राम्रो रहेको बताए।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख महेश कुमार पुरीले आर्थिक वर्ष २०७७/०७८ मा भएका विभिन्न स्वास्थ्य कार्यक्रमहरूबारे इन्फोग्राफिक्स सहितको प्रस्तुती दिएका थिए। समीक्षा कार्यक्रममा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने क्रम जारी छ।