Monday, October 7, 2024
spot_img

रेडियो आरम्भको नियमित प्रसारण सुरु

सुर्खेत। पूर्वी सुर्खेतको मेहेलकुनाबाट प्रसारण सुरु गरेको रेडियो आरम्भ ९७.५ एफ.एम.ले आफ्नो नियमित प्रसारणको सुरुवात गरेको छ। सोमबार रेडियो आरम्भको औपचारिक उद्घाटन भएसँगै रेडियो आरम्भले आफ्नो नियमित प्रसारणको शुभारम्भ गरेको हो।

गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुनले रिबन काटेर रेडियोको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा गुर्भाकोट नगरपालिकाकी उप प्रमुख मैना वि.क., नगरपालिका अन्तर्गत विभिन्न वडाका वडाध्यक्षहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, कर्मचारी र व्यवसायीहरूको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गुर्भाकोट नगरपालिकाका नगरप्रमुख पुनले रेडियोले प्रसारण गर्ने सामाग्री निष्पक्ष र सन्तुलित हुने विश्वास व्यक्त गरे। विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर गरिने फेक न्युजको धन्दा बढेको भन्दै नगरप्रमुख पुनले रेडियो आरम्भलाई सत्यतथ्य सूचना प्रवाह गर्ने विश्वसनीय सञ्चार माध्यमको रुपमा विकास गर्न आग्रह गरे। 

कार्यक्रममा मन्तव्य राख्दै गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैन वि.क.ले स्थानीय विकासका लागि स्थानीय सञ्चार माध्यमको भूमिका प्रभावकारी हुने विचार व्यक्त गरिन। पूर्वी सुर्खेतको केन्द्र गुर्भाकोट नगरपालिका भएता पनि अहिलेसम्म यस क्षेत्रमा भएगरेका राम्रा कामहरूको उचित प्रसार प्रसार हुन नसकेकोमा रेडियो आरम्भको स्थापनासँगै स्थानीय स्तरमा हुने विभिन्न कार्यक्रमले सञ्चार माध्यममा ठाउँ पाउने वि.क.ले धारणा राखिन।

उद्घाटन कार्यक्रममा स्वास्थ्यकर्मी संघका केन्द्रिय उपाध्यक्ष किरण वली, नेरामावि बडाखोलीका प्र.अ. ढालबहादुर खत्री, शिक्षक महासंघ गुर्भाकोटका अध्यक्ष कृष्णप्रकाश आरसी, प्रहरी चौकी मेहेलकुनाका इन्चार्ज कृष्ण खड्का, गुर्भाकोट नगरपालिका वडा नं. ६ का वडाध्यक्ष धनीराम जैसी र वडा नं. १३ का अध्यक्ष मधु गुरुङले शुभकामना मन्तव्य राखेका थिए।

गुर्भाकोट नगरपालिका वडा नं. ५ का अध्यक्ष तथा रेडियो आरम्भका संरक्षक लाल बहादुर पुनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति सुर्खेतका सदस्य वासुदेव शर्मा, गुर्भाकोट ७ का अध्यक्ष विर्खबहादुर सार्की, वडा नं. २ का अध्यक्ष नोख बहादुर वली लगायतको उपस्थिति थियो।

५ सय वाट क्षमताको रेडियो आरम्भ एफ.एम. ब्याण्डको ९७.५ मेगाहर्ज, इन्टरनेट अनलाइनमा www.chiyamedia.com, मोबाइल एप्लिकेसन चिया मिडिया र युट्युबमा चिया एचडि नेटवर्क मार्फत सुन्न र हेर्न सकिने सञ्चालक संस्था चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले जनाएको छ। सञ्चालक संस्था चिया मिडियाका अनुसार रेडियो आरम्भ ९७.५ एफ.एम. सुन्न र हेर्न सकिने रेडियो हो।

चिया मिडिया एण्ड टेक्नोलोजी प्रा.लि.ले सञ्चालन गरेको रेडियो आरम्भले एक महिना अघिदेखि आफ्नो परिक्षण प्रसारण गर्दै आईरहेको थियो। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!