सुर्खेत। गुर्भाकोट नगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ। “नगरमा उद्योग, रोजगारमा उपयोग” भन्ने संकल्पका साथ शुक्रवार सभा सम्पन्न भएको हो।
गत असार १० गते शुरु भएको नगरसभाले आ.व. २०७८/०७९ को लागि गुर्भाकोट नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख हस्त पुनले यसपटकको नीति तथा कार्यक्रमले रोजगार र उद्यमशीलतालाई प्राथामिकता दिएको बताए।
विश्वभर फैलिएको कोभिड १९का महामारीका कारण रोजगारी गुमाई घर फर्किएका नगरवासीलाई रोजगारको सुनिश्चितता गर्न कृषि उद्यमशीलतालाई जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।
“नगरमा उद्योग, रोजगारमा उपयोग” भन्ने संकल्पलाई सार्थक तुल्याउन नगरपालिकामा ठूला उद्योग स्थापना संभावनाको उचित वातावरणको खोजी गर्दै तत्काल साना उद्योग संचालन गर्न चाहने उद्यमीलाई उच्च प्राथमिकतासाथ प्रोत्साहन गरिने नगरप्रमुख पुनले बताए। महिला उद्यमीले मात्र संचालन गर्ने गरी स्थापना भएमा सीप विकास र पुँजीका लागि आवश्यक सहयोग र कर छुटको नीति आगामी आ.व. २०७८।०७९ समेत कायम राखिने पुनको भनाई छ।
सभाले बालविवाह अन्त्यका लागि पञ्चवर्षीय रणनीतिक योजनाको प्रस्ताव सर्वसम्मत पारित गरेको छ। यसअघि नगरका सामाजिक विकास समिति संयोजक चित्रबहादुर रेग्मीले “बालविवाह मुक्त हाम्रो नगर, बालमैत्री युक्त समृद्ध गुर्भाकोट” भन्ने संकल्पलाई आत्मसात गरी बालविवाह मुक्त नगर बनाउने उद्देश्य सहित तयार पारिएको ५ वर्षे रणनीतिको प्रस्ताव सभामा पेश गरेका थिए।
६४ करोड ३७ लाख ५५ हजारको बजेट पारित
सभाले आगामी आ.व. २०७८/०७९ का लागि उपप्रमुख मैना बि.कले प्रस्तुत गरेको रु ६४ करोड ३७ लाख ५५ हजार बराबरको बजेट स्वीकृत गरेको छ। आ.व. २०७८/०७९ का नीति तथा कार्यक्रम कार्यान्वयन गर्न बजेट स्वीकृत गरिएको हो ।
उपप्रमुख बि.क.का अनुसार चालु तर्फ रु. ११ करोड २९ लाख ०५ हजार पुँजीगत तर्फ १९ करोड १२ लाख ७५ हजार सशर्त तर्फ संघीय सरकार चालु खर्च रु २८ करोड ३९ लाख पुँजीगत रु २ करोड ४ लाख बजेट विनियोजन गरिएको छ।