सुर्खेत। गुर्भाकोट नगरपालिकाले कोरोना संक्रमण भई रिपोर्ट नेगेटिभ आइसकेका व्यक्तिहरूको स्वास्थ्य अवस्थाबारे चासो लिन थालेको छ। नगरपालिकाको स्वास्थ्य शाखाले मंगलबार मेहेलकुना अस्पतालमा जोखिमयुक्त समुदायमा क्षयरोग खोज पड्ताल तथा कोभिड १९ को संक्रमण पश्चात स्वास्थ्य अवस्थाको परीक्षण गरेको छ।
परीक्षण कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाका मेयर हस्त पुनले कोरोना संक्रमण पार लगाएका व्यक्तिहरूमा स्वास्थ्यको जोखिम रहिरहने सम्भावना अत्यधिक रहने चिकित्सकहरूको सुझाव अनुसार पालिका भित्रका जोखिमयुक्त समुदायका लागि स्वास्थ्य परीक्षण कार्यक्रम राखिएको बताए।
कार्यक्रममा गुर्भाकोट नगरपालिकाका वडा नंवर ४, ५ र ९ का कोरोना संक्रमित भई हाल निको भएका १ सय जना बिरामीलाई स्वास्थ्य परीक्षण गरिएको गुर्भाकोट नगरपालिकाका नगर स्वास्थ्य शाखा प्रमुख महेश कुमार पुरीले जानकारी दिए। पुरीका अनुसार कोरोना संक्रमण पार लगाएका बिरामीहरूलाई क्षयरोगको जोखिम समेत हुनसक्ने भएकाले उनीहरूलाई निशुल्क परीक्षण र औषधि वितरण गरिएको हो।
कार्यक्रममा स्वास्थ्य चौकी सहारेको प्राविधिक सहजीकरणमा बिरामीहरुको खकार परीक्षण र मेहेलकुना अस्पतालले एक्स रे परीक्षणमा सहजीकरण गरेको जनस्वास्थ्य निरीक्षक पूर्ण घर्तिले बताए।