सल्यान। कालिमाटी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि रु. ५२ करोड करोड ३५ लाख २० हजारको बजेट विनियोजन गरेको छ। सोमवार देखि पालिकाको सभाहलमा शुरु भएको गाउँसभाले आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट स्वीकृत गरेको हो।
यसअघि गाउँपालिकाका अध्यक्ष दानबहादुर खत्री केसीले आर्थिक वर्ष २०७८/०७९ का लागि सभामा पेश गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको थियो।
अध्यक्ष केसीले पेश गरेको नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष शहनशिला वली डिसीले मंगलबार आर्थिक वर्ष २०७८/०७९ का लागि अनुमानित आयव्यय विवरण सभामा पेश गरेकी थिइन। आगामी आर्थिक वर्षका लागि पुँजीगत खर्चतर्फ रु २६ करोड ५० लाख र चालु खर्चतर्फ २५ करोड ८५ लाख २० हजार गरि कुल रु. ५२ करोड करोड ३५ लाख २० हजारको बजेट विनियोजन गरिएको उपाध्यक्ष डिसीले बताइन।
पालिकाको नीति तथा कार्यक्रम र बजेटले यो वर्ष कोभिड १९ का कारण रोजगारी गुमाएका र प्रभावित परिवारलाई रोजगारसँग जोड्ने गरि उद्यमशीलताका कार्यक्रमलाई प्राथामिकता दिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले बताए। खत्रीका अनुसार बजेटले युवा रोजगारी सिर्जना गर्ने, शिक्षाको विकास र स्वास्थ्य सेवालाई पनि प्रमुख प्राथमिकता दिएको छ।
उपाध्यक्ष डिसीले प्रस्तुत गरेको बजेट आजै सर्वसम्मत रुपमा पारित भई दसौं गाउँसभा सम्पन्न भएको छ।