पूर्वराज्यमन्त्री विष्टको निधनप्रति सुर्खेतबासी दुखित

पढ्नै पर्ने

सुर्खेत। नेपाली कांग्रेस सुर्खेतका नेता एवं पूर्व संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति सुर्खेत जिल्लावासी दुखित भएका छन्। नेता विष्टको उपचारको क्रममा आज बिहान काठमाडौँमा निधन भएको हो। कोरोना सङ्क्रमण भएसँगै विष्टलाई थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पतालमा राखिएको थियो।

पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट २०३६ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए। सुर्खेतका पूर्व जिल्ला विकास समितिका उपसभापति, काँग्रेस सुर्खेतका पूर्व सभापति, संविधानसभा सदस्यसहित उनले सञ्चार राज्यमन्त्रीको भूमिका निर्वाह गरेका थिए।

निरन्तर जनताको पक्षमा आवाज उठाउने नेता विष्टको निधनले काँग्रेस सुर्खेत र सिङ्गो पार्टीलाई अपूरणीय क्षति पुगेको जिल्ला पार्टी सभापति कमलराज रेग्मीले बताए। उनले सुर्खेतको राजनीतिमा नेपाली कांग्रेसले एक खम्बा गुमाएको भन्दै मृत आत्माको चीरशान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेस संसदीय दलले पूर्वराज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ। उनको शनिबार राति निधन भएको हो।

कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेकी छन्।

विसं २०२० मा अछाममा जन्मिएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तारसमेत भएको कांग्रेसले जनाएको छ। कांग्रेसका विभिन्न तहमा रहेर पार्टीलाई अतुलनीय योगदान पु¥याउँदै आएका विष्ट लामो समयसम्म कांग्रेस सुर्खेत जिल्लाका सभापति थिए।

नेता विष्ट २०७० सालको संविधान सभा निर्वाचनमा कांग्रेसका तर्फबाट सुर्खेत निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए। उक्त कार्यकालमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको पद जिम्मेवारीपूर्वक निर्वाह गरेका थिए। सरल र मिलनसार स्वभावका स्व विष्ट इमान्दार एवं विकासप्रेमी नेताका रुपमा परिचित थिए। उनको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेसले जनाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!