दैलेख। तीन दिनदेखिको निरन्तर वर्षात्ले दुल्लु नगरपालिका –९ का ६ घर भत्किएका छन्। वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा गाउँका तीन र धामीगाउँका तीन घर भत्किएका हुन्।
बोहोराले विस्थापित परिवारलाई नजिकका आफन्तको घरमा राखिएको जानकारी दिए। लगातारको वर्षातका कारण जिल्लाभर अहिलेसम्म मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यलयका प्रमुख अनुपम श्रेष्ठले भने “कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो गइरहेको छ। अन्य सहायक सडकमा पनि यातायातका साधन सञ्चालन हुन कठीन छ। ” दैलेख सुर्खेत सडक खण्ड, निर्माणाधीन मध्यपहाडी राजमार्ग लगायतका स्थानीय तहको केन्द्र जोड्ने मुख्य सडक र सहायक सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन्।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभरका सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ। जल तथा मौषम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्षको मनसुन लामो अवधिसम्म रहने देखिन्छ। जिल्लास्थित कर्णाली नदी, लोहोरे, छामघाट, रामाघाट, कट्टी, पादुका खोला लगायतका नदी र खोलामा पानीको बहाब बढ्न गइ तटीय क्षेत्रमा बाढी आउन सक्ने र भिरालो ठाउँमा पहिरो जानसक्ने जोखिम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले तटिय क्षेत्र र भिरालो ठाउँमा बस्ने स्थानीयबासीलाई सम्भाबित विपद्को जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।