पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउन समस्या

पढ्नै पर्ने

पर्वत। पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनी–मालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन। सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो। जिल्लाको कुश्मा नगरपालिका–१ सहस्रधारामा ठूलो पहिरो झरेर अवरुद्ध सडक वर्षा नरोकिँदा खुलाउन समस्या भएको प्रहरीले जनाएको छ। मङ्गलबार दिनभरि निरन्तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम नरोकिँदा खुलाउन समस्या भएको प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए।

मध्यपहाडी लोकमार्ग पहिरोले रोकिएपछि साना सवारीसाधनले वैकल्पिक सडक प्रयोग गर्न थालेका छन्। सहस्रधारामा सडक बन्द भएपछि पाङ हुँदै खुर्कोट निस्किएर आवातजावत हुन थालेका हुन्। अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ। वर्षासँगै पहिरो पनि निरन्तर झरिरहेको छ। प्रनाउ अधिकारीका अनुसार मालढुङ्गा–बेनी सडकमा पर्ने केराबारी, लामाखेत, ज्यामिरे र फर्सेमा पहिरोका कारण सडक अवरुद्ध भएको छ। प्रहरीले मङ्गलबार दिउँसो खुलाइएको सडक साँझ फेरि पहिरो झरेर अवरुद्ध भएको उनले जानकारी दिए।

यो सँगै जिल्लाका अन्य ग्रामीण सडक पनि अवरुद्ध छन्। हुवास–वालिङ सडक, फलेवास–रानीपानी सडक, लमाय–लुँखु सडक, पातीचौर–देउराली सडक पनि पहिरोले रोकिएका छन्। जलजला गाउँपालिकाका अधिकांश सडक अवरुद्ध छन्। सडक बन्द हुँदा एम्बुलेन्स, खाद्यान्न ढुवानी गर्ने सवारी, निर्माण सामग्री बोकेका ट्रक बीच बाटोमा रोकिएका छन्। पहिरोका कारण भत्किएका र अवरुद्ध भएका सडकहरु खुलाउन वर्षाका कारण समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिइन। उनले सडकसँगै बस्तीमा पनि पहिरो आउने खतरा रहेकाले सतर्क रहन अनुरोध गरिएको बताइन। निरन्तरको वर्षाका कारण भिरालो स्थानमा रहेका बस्तीहरुमा पहिरो आउने खतरा रहेकाले सचेत रहन प्रशासनले सूचित छ।

पहिरोले २९ घर विस्थापित

म्याग्दी। केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन्। अन्नपूर्ण गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पु¥याएको हो। पहिरोबाट अन्नपूर्ण–५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव कुलप्रसाद आचार्यले जानकारी दिए। “एउटा गोठ पहिरोले पुरिएको छ, पहिरोले क्षति पु¥याएका र जोखिममा परेका घरका मानिस, गाइबस्तु र सामानलाई सुरक्षित ठाउँमा सारिएको छ”, उहाँले भन्नुभयो “सँयौ रोपनी खेतीयोग्य जमीनमा क्षति पुगेको छ।”

घोस्केघोरका रेशबहादुर पाइजा, कृष्ण फगामी, नौमति बुद्धुजा, नरे तिलिजा, दलमति पुर्जा, जितबहादुर पुर्जा, टीकाबहादुर पुर्जा र ज्ञानबहादुर पाइजाको घरमा क्षति पुगेर विस्थापित भएका छन्। घरभित्र पहिरो पसेको, आँगन भत्केको र गोठ पुरिएको स्थानीय शिक्षक खेम पुनले बताए।

जिल्ला प्रहरी कार्यालयका अनुसार पहिरोका कारण बेनी–२ बगरफाँटमा नौ र वडा नं ८ सल्लेरीमा चार घरपरिवार विस्थापित भएका छन्। यसैगरी बेनी–४ डाँडाखेतमा तीन परिवार विस्थापित भएका छन्। लोकेन्द्र खत्री, खेमराज पौडेल र सानु किसानका परिवार विस्थापित भएको वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए।

मङ्गला गाउँपालिका–२ तल्लो डडुवा (कुकुर बिसौना)मा पहिरोले कृष्णबहादुर दर्जीको ढुङ्गा, माटो र काठले बनेको दुई तले घर भत्किएको छ। घर भत्किएपछि दर्जीका १६ जनाको परिवारलाई आफन्तकोमा सारिएको स्थानीयवासी नेत्रराज सुवेदीले जानकारी दिए।

यसैगरी सदरमुकाम बेनीको क्याम्पसचोकमा आएको बाढी पसेर कालीपुलमा रहेको देवेन्द्र पौडेलको ग्यारेज डुबाएको छ। बर्षासँगै जामुनाखर्कको पाखोबाट आएको बाढीले बेनीको अस्पताल चोक र कालीपुल बसपार्क हिलाम्मे बनाएको छ।

निरन्तरको वर्षासँगैको पहिरोले म्याग्दीका सबै सडक अवरुद्ध बनेका प्रहरी नायब उपरीक्षक श्यामकुमार राइले बताए। म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मलढुङ्गा, बेनी–बागलुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका छन्।

बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा, गलेश्वर–मौवाफाँट–चिमखोला–कुइनेमङ्गले, पोखरेबगर–घार–शिख–चित्रेलगायत सबै ग्रामीण बस्ती जोड्ने सडकमा यातायात ठप्प भएको छ। कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा आएको बाढीले खतराको तह नाघेको छ। तटीय र जोखिमयुक्त ठाउँका बासिन्दालाई सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

शिखको स्वाँतखोलामा रहेको मोटरेबल पुलसम्म पुग्ने बाटो पहिरोले बगाएको छ। घारखोलामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निर्माणाधीन पुलको पनि निर्माण सामग्री बगाएको छ। पखेरस्थित म्याग्दी नदीमाथि निर्माणाधीन अर्को मोटरेबल पुल ढलानमा प्रयोग भएका सामानसमेत बगाएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!