राउटे संरक्षणको नीति बनाउन कांग्रेस नेतृहरुको माग

पढ्नै पर्ने


सुर्खेत। सुर्खेतका कांग्रेस नेतृहरुले राउटे समुदायको संरक्षणका लागि नीति बनाउन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन्। नेपाली कांग्रेसको महिला विभाग र नेपाल महिला संघमा आवद्ध नेतृहरुले आइतबार कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई भेटी राउटे समुदायको संरक्षण र संवर्द्धनका लागि नीति बनाउन माग गरेका हुन।

मन्त्री बुढाक्षेत्रीसँगको भेटमा नेपाल महिला संघ सुर्खेतकी कोषाध्यक्ष तथा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बि.क.ले राउटे समुदाय कर्णाली प्रदेशकै गहना भएकाले उनीहरूको संरक्षणमा प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने धारणा राखिन। राउटे समुदायमा पछिल्लो समय घटेको घटनाले सुरक्षा चिन्ता थपेको बताउँदै उपप्रमुख बि.क.ले उनीहरूका मौलिक रहनसहन र परम्पराको जगेर्ना गर्दै उनीहरूको सुरक्षा र जीवनयापनका लागि सरकारले नीति नै बनाएर कार्यान्वयन गर्नुपर्ने जिकिर गरिन।

भेटका क्रममा नेपाल महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष जानकी सिंहले राउटे समुदायको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको धारणा राखिन।

मन्त्री बुढाक्षेत्रीसँग कर्णाली प्रदेश सभा सदस्य अमृता शाही, नेपाली कांग्रेसको केन्द्रीय महिला विभागकी सदस्य खगीसरा आचार्य, भेरीगङ्गा नगरपालिकाकी उपप्रमुख रेणु आचार्य ढकाल र नेपाल महिला संघ सुर्खेतकी सहसचिव ज्ञानु भुसालले अविलम्ब राउटे समुदायका लागि नीति बनाएर लागू गर्न र राउटे समुदायको सुरक्षामा विशेष ध्यान दिन माग गरेका थिए।

महिला नेतृहरुले राउटे समुदायको संरक्षण र संवर्द्धनका लागि राखेको चासोबारे बोल्दै मन्त्री बुढाक्षेत्रीले राउटे सम्बन्धी नीति बनाएर लागु गर्ने विषयमा प्रदेश सरकार सकारात्मक रहेको बताए। उनले राउटे समुदायलाई फिरन्ते, लोपोन्मुख जातीका रुपमा मात्रै यसअघि व्याख्या हुँदै आएकोमा प्रदेश सरकारले प्रष्टरूपमा राउटेलाई जातीकै रुपमा व्याख्या गरेको स्पष्ट पारे।

भेटमा सहभागी कांग्रेस नेतृहरुले नेपाली कांग्रेस केन्द्रीय महिला विभागका तर्फबाट राउटे समुदायको संरक्षण र संवर्द्धनका लागि विभिन्न माग राखी ज्ञापनपत्र समेत मन्त्री बुढाक्षेत्रीलाई बुझाएका छन्। विभागकी प्रमुख ईश्वरी न्यौपानेले हस्ताक्षर गरेको ज्ञापनपत्र विभागकी केन्द्रीय सदस्य खगीसरा आचार्यको नेतृत्वमा मन्त्री बुढाक्षेत्रीलाई बुझाइएको हो।

यसअघि महिला नेतृहरुको टालीले सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि महिला विभागको तर्फबाट ज्ञापनपत्र बुझाएका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!