राउटे युवतीहरूको सुरक्षा र जीवनयापनको ग्यारेन्टी गर्न कांग्रेस महिला विभागको माग

पढ्नै पर्ने

सूर्यदीप रेग्मीhttp://chiyamedia.com
रेग्मी कर्णाली पोस्ट डटकमका सञ्चालक/सम्पादक हुन।

सुर्खेत। नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले राउटे युवती माथि पछिल्लो समय घटेको घटनाप्रति विभागको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। विभागकी प्रमुख ईश्वरी न्यौपानेले हस्ताक्षर गरेको ज्ञापनपत्र आइतबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाउँदै राउटे युवती माथि घटेको घटनापछि विभागले राउटेको सुरक्षाबारे चासो व्यक्त गरेको हो।

प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा प्रतिनिधिमण्डल

ज्ञापनपत्र बुझाउन विभागकी केन्द्रीय सदस्य खगीसरा आचार्य नेतृत्वको प्रतिनिधिमण्डल जिल्ला प्रशासन कार्यालय सुर्खेत पुगेको थियो।

राउटे संस्कृति र जीवनपद्दतीलाई संरक्षण र संग्रह गर्नु हरेक नेपालीको साझा दायित्व भएको भन्दै विभागले राउटे युवतीहरु माथि घटेको घटनाको भर्त्सना गरेको छ। पछिल्लो घटनामा राउटे चेलीहरूले न्याय पाउने कुरामा विभिन्न आशंका र अड्कलबाजी हुन थालेकोमा गम्भिर रहनपनि प्रशासनलाई ज्ञापनपत्र मार्फत अनुरोध गरिएको छ।

विभागले स्थानीय, प्रदेश र केन्द्र सरकार राउटे सम्बन्धी नीति बनाउने कुरामा उदासिन रहनु र राउटे समुदाय आफ्नै किसिमका विधि विधान र परम्परामा बाँधिने गरेको विरोधाभासले यो घटना थप जटिल बन्न सक्ने परिस्थितिलाई आकलन गर्दै पीडित राउटे युवतीहरूको सुरक्षा र जीवनयापनको ग्यारेन्टी गर्नका निम्ति सरकारसँग माग गरेको छ।

ज्ञापन पत्र बुझाउन गएको प्रतिनिधि मण्डलले दैनिक जीवनयापनमा कठिनाइ र कमजोर स्वास्थ्य अवस्थाका कारण राउटेहरुको अस्तित्वनै सङ्कटमा पर्न सक्ने सभावनालाई दृष्टिगत गर्दै उनीहरूको जीवनयापन र व्यवस्थित बसोवासको निम्ति तत्काल पहल गर्न प्रमुख जिल्ला अधिकारी रिजाललाई अनुरोध गरे।

उनीहरूले राउटे युवतीहरूसँग बनाइएका विभिन्न खाले भिडियो सामाजिक सञ्जालहरुबाट हटाउन तत्काल कदम चाल्न पनि प्रमुख जिल्ला अधिकारी रिजाललाई अनुरोध गरे।

प्रतिनिधिमण्डलमा सहभागी नेतृ ज्ञानु भुसाल र भेरीगंगा नगरपालिकाकी उपप्रमुख रेणु आचार्य ढकाल

प्रतिनिधिमण्डलमा विभागकी केन्द्रीय सदस्य आचार्यसँगै कांग्रेस नेतृहरु कर्णाली प्रदेश सभा सदस्य अमृता शाही, नेपाल महिला संघ केन्द्रीय कोषाध्यक्ष जानकी सिंह, नेपाल महिला संघ सुर्खेतकी कोषाध्यक्ष तथा गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना बि.क, भेरीगङ्गा नगरपालिकाकी उपप्रमुख रेणु आचार्य ढकाल र नेपाल महिला संघ सुर्खेतकी सहसचिव ज्ञानु भुसाल सहभागी थिए। 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी रिजालले राउटे युवतीमाथि भएको घटनाबारे अदालतमा मुद्दा चलिरहेको र दोषीले कानुन बमोजिम सजाय पाउने बताए। राउटे युवतीहरु र समग्र राउटे समुदायको सुरक्षाका लागि प्रशासन गम्भिर रहेको भन्दै रिजालले हाल राउटे बस्तीमा प्रहरी खटाइएको जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पढेर सुनाउँदै नेपाली कांग्रेस महिला विभागकी केन्द्रीय सदस्य खगीसरा आचार्य

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।