Friday, April 19, 2024
spot_img

प्रदेशसभा सदस्य वैद्यलाई आत्मालोचना गर्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले पार्टीको वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। पार्टीले आज विज्ञप्तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी नै पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेतसमेत गराइएको जनाइएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन भन्ने प्रष्ट रहेको उल्लेख गर्दै आलोचना लोकतान्त्रिक हक भए पनि त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन नमिल्ने बताएका छन्।

शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसद्मा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने विज्ञप्तिमा उल्लेख छ। हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको प्रवक्ता शर्माले उल्लेख गरेको छ।

पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

पढ्नै पर्ने

भर्खरै प्रकाशित

error: Content is protected !!