काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित समारोहमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा आज नियुक्ति, हेरफेर र विस्तार गरी पूर्णता दिएकी थिईन।
नेकपा (एमाले) र जनता समाजवादी पार्टीका नेतासहित मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिएको हो। यही जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो। पछिल्लो पटक गत वैशाख ३० गते ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री भएका ओलीले वैशाख ३१ गते पहिलो र यही जेठ २१ गते दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
सपथ लिनेमा गृहमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमा नैनकला थापा, कृषि तथा पशुपछी विकासमा ज्वालाकुमारी साह, वन तथा वातावरणमा नारदमुनि राना, सङ्घीय मामिला तथा सामान्य प्रशासनमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियाँ मन्त्री भएका छन्।
यसैगरी, राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री पदको सपथ गराएका थिए।