राउटे युवती दुर्व्यवहार गर्नेलाई छुटाउन कुनै दबाब छैनः मेयर पुन (भिडियोसहित)

पढ्नै पर्ने

मेहेलकुना। सुर्खेतको गुर्भाकोट नगरपालिकाका मेयर हस्त पुनले राउटे युवतीहरूलाई दुर्व्यवहार गर्ने व्यक्तिहरूलाई कडा कारवाही हुने विश्वास व्यक्त गरेका छन्। गुर्भाकोट नगरपालिकाको वडा नं. ९ स्थित राउटे बस्तीको मंगलबार स्थलगत निरीक्षण गर्दै मेयर पुनले अभियुक्तहरू छुटाउन अहिले सम्म कतैबाट कुनै किसिमको दबाब नआएको प्रष्ट पारे।

पिडकलाई मुद्धा कमजोर बनाएर रिहा गर्न सकिने कतिपय मानिसहरुको आशंकाकाबीच मेयर पुनले अपराधिक क्रियाकलाप गर्नेहरुलाई कडा कारवाही हुनुपर्ने बताएका हुन्। गत शुक्रवार दुई राउटे युवतीलाई मदिरा सेवन गराई यौन दुर्व्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पीडित राउटे युवतीहरु र राउटे समुदायको सुरक्षामा कुनै कसर बाँकी नराख्ने भन्दै मेयर पुनले हाल राउटे बस्ती वरिपरि स्थानीय प्रशासनका तर्फबाट प्रहरी खटाइएको जानकारी दिए। सामाजिक सञ्जालको दुरुपयोगसँगै पछिल्लो घटना घटेको भन्दै उनले राउटे बस्तीमा अब बाहिरबाट कोहीपनि प्रवेश गर्न नपाउने बताए। विभिन्न युट्युबर र टिकटक युजरहरुलाई राउटे समुदायमा प्रवेश गर्न पूर्ण रुपले रोक लगाइएको र नगर क्षेत्रभित्र माइकिङ्ग गरि राउटे बस्तीमा कोहीपनि नजान अपिल समेत गरिएको मेयर पुनको भनाई छ।

राउटे बस्तीमा प्रवेश गर्नैपर्ने कुनै काम भए जिल्ला प्रशासन कार्यालय वा नगरपालिकाबाट पूर्व अनुमति लिनुपर्ने व्यवस्था गरिएको पुनले जानकारी दिए। अनधिकृत र अनुमति विना राउटे बस्तीमा प्रवेश गरे पक्राउ गरि आवश्यक कारवाही गरिने गुर्भाकोट नगरपालिकाले जनाएको छ।

मेयर पुनले यसअघिनै बनाइएका टिकटक, युट्युब भिडियो समेत डिलिट गर्न सबैमा सार्वजनिक अपिल समेत गरेका छन्।

राउटे समुदायको सुरक्षाबारे के भन्छन् मेयर? यो भिडियो हेर्नुहोस्। 

 

 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!