कर्णालीबाट कांग्रेसको सत्ता यात्रा शुरुः मन्त्रीका लागि १३ बुँदे आचारसंहिता जारी गरियो

पढ्नै पर्ने

सुर्खेत। नेपाली काङ्ग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले सरकारमा जाने दुई मन्त्रीहरूको नाममा टुङ्गो लगाएको छ। दलको आज बसेको बैठकले प्रदेशसभा सदस्यद्वय दीनबन्धु श्रेष्ठ र यज्ञबहादुर बिसीलाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको हो।

कर्णालीमा काङ्ग्रेसको समर्थनमा नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकार छ। कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले श्रेष्ठलाई ऊर्जा तथा जलस्रोत विकास र यज्ञबहादुर विसीलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीसमक्ष सिफारिस गरेको बताए। दुई मन्त्रीको नियुक्तिसँगै औपचारिक रूपमा कर्णालीमा कांग्रेस र माओवादी केन्द्रको संयुक्त सरकार बन्नेछ। 

कर्णालीबाट काङ्ग्रेसले प्रदेश सरकारमा पहिलोपटक सहभागिता जनाउने भएको छ। विसं २०७४ को प्रदेशसभा निर्वाचनपछि सात प्रदेशमध्ये सबैभन्दा पहिला कर्णालीबाट कांग्रेसले सत्ता साझेदारीको सुरुआत गरेको हो। मन्त्रीमण्डलमा हाल मुख्यमन्त्रीसहित तीन माओवादी, तीन स्वतन्त्र मन्त्री छन्। दुई मन्त्रीमा कांग्रेसको प्रतिनिधित्व भएसँगै कर्णालीमा आठ सदस्यीय मन्त्रिमण्डल बन्नेछ।

मन्त्रीका लागि सिफारिस गरिएका श्रेष्ठ जुम्ला तथा विसी सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद हुन्। नेकपा (एमाले) ले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई गत वैशाख ३ गते काङ्ग्रेसले प्रदेशसभामा विश्वासको मत दिएको थियो। कांग्रेसका छ र एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि मुख्यमन्त्री शाहीको सरकार जोगिएको थियो। कर्णालीमा  एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ जना गरी ३५ सदस्यीय प्रदेशसभा छ। 

यसैबीच, काङ्गे्रस संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीका लागि १३ बुँदे आचारसंहिता जारी गरेको छ। सरकारमा सहभागी हुने मन्त्रीहरूले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गर्ने, आर्थिक अनुशासन, स्वच्छता, मितव्ययिता र सादा जीवनशैली अपनाउनुपर्ने, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवा, सुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइनेलगायत आचारसंहिता बनाएको छ। दलका नेता शाहीले संयुक्त सरकारमा प्रतिनिधित्व गर्नुपर्ने भएकाले बेग्लै आचारसंहिता बनाएर लागू गर्नुपरेको बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।