डोल्पाका कथाः घुम्नेलाई क्षणिक रमाइलो, कर्मचारीलाई बाँच्नै सकस

पढ्नै पर्ने

– हेमन्त केसी


जाजरकोट।  हिउँले ढाकेका अग्ला पहाड, हिमालका छेउमै गाउँहरु! रुख, विरुवा कत्तै नभएका तर हिउँले ढाकिएका सेताम्मे हिमालले सबैको मन प्रफुल्ल बनाउँछ, तर क्षणिक समयका लागि मात्र। यहाँ पुर्खौँदेखि बस्दै आएका सर्वसाधारणहरू उपल्लो डोल्पाको हावापानीसँग घुलमिल भइसकेको भएपनि घुम्न तथा अन्य कामले जाने व्यक्तिहरूलाई भने क्षणिक रमाइलोका लागि मात्र काम लाग्छ यहाँको वातावरण। लामो समय खप्नै सक्दैनन्। 

महिनैपिच्छे उपल्लो डोल्पामा जाने सर्वसाधारण तथा कर्मचारीहरू हैरान भएर दुनै फर्कने गरेको बताउँछन्। कसैलाई रमाइलोको लागि जानु परेपनि कर्मचारीहरु भने सरकारले तोकेको ठाउँमा जान ज्यान फालेर कार्यस्थलसम्म खट्नुपर्दछ। वर्षेनी उच्च हिमाली क्षेत्रमा जानेहरु अक्सिजनको कमीका कारण स्वासप्रस्वासमा समस्या आएर कतिले ज्यान नै गुमाउनु परेको छ भने कतिलाई विरामी अवस्थामा उद्धार गर्नुपरेको हुन्छ। 

कतिपय कर्मचारीलाई त सहि नसक्नुको पीडा हुने गरेको हप्ता दिनअघि मात्र विरामी भएर अहिले काठमाडौँमा उपचार गराइरहेका शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए। उनले भने, “खटाएको काम र लागेको जिम्मेवारी बहन त गर्नु नै पर्र्यो तर काम गर्न कति चुनौतीपूर्ण छ भन्ने कुरा भोग्नेलाइ मात्र थाहा हुन्छ।” दुनैबाट गाउँपालिकाको केन्द्रसम्म जाँदा बाटोमा फोन सम्पर्क सम्म गर्न मुस्किल हुने गरेको उनले बताए। को कहाँ पुगेको छ, के गरिरहेको छ केही अत्तो पत्तो नहुँदा परिवारमा निकै कति पीडा हुने गरेको न्यौपानेको अनुभव छ। 

कम पीडा छैन छार्का ताङसोङ गाउँपालिकामा कार्यरत सव इन्जिनियर हरिप्रसाद रोकायको पनि, रोकायले भने, “फिल्डमा जाँदाजाँदै आँखै अगाडि हिउँ पहिरोहरु जान्छन्, हिमपात हुन्छ, बाटो अवरुद्ध हुन्छ सोही समयमा मन भारी भएर आउँछ।” ‘‘सरकारले खटाएको ठाउँमा काम गर्नैपर्छ । ज्यानको बाजी लगाएर भएपनि अटाएको ठाउँमा त पुग्नैपर्छ। तर जतीबेला आपत विपत आउँछ, त्यतिबेला  जीवनको अन्तिम क्षण नै हो कि जस्तो लाग्छ” उनले पीडा थपे। उनी भन्छन्, “अघिल्लो वर्ष फिल्ड जाँदै गर्दा बाटोमा साथी हिँड्दा हिड्दै सुनिएर समस्या भयो। उहाँलाइ बाटोबाटै फर्काएर दुनै पठाएँ र म अगाडि बढेँ। त्यतिबेला मलाइ पनि त्यस्तै हुन्छ कि भनेर मनभरि पीडा बोकी कर्मस्थलतिर लागेँ।” उनले कैयौँ दिन भोकै काममा हिँडेको सुनाए। “बाटोमा खानेकुरा पाइदैँन, पाइहाले पनि एउटा रोटीलाइ रु ५० पर्छ ।” रोकायले भने। 

भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका सव इन्जिनियर प्रकास बुढा वैशाख ६ गते उपल्लो डोल्पाका गाउँपालिकाहरुमा योजना अनुगमनमा जाँदा झण्डै ज्यान गएको अनुभव सुनाउछन्। उनले भने, “वैशाख ६ गते सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको चीनसँग जोडिएको क्याटु नाका लगायतका ठाउँमा चार वटा टेन्डर प्रक्रिया चलिरहेको थियो सोही योजना हेर्न म केही बाटो घोडा र केही बाटो हिडेर त्यहाँ गएको थिएँ।” झण्डै पाँच हजार २०० मिटरको उचाइमा पुग्दा तीन घण्टा हिड्ने बाटोमा १२ घण्टा लगाएर हिउँमा जानुपर्दा जिन्दगीको अन्तिम क्षण यही रहेछ भन्ने लागेको इन्जिनियर बुढाले सुनाए। उपल्लो डोल्पामा सात दिन हिँउमा बसेर हेलिकोप्टरबाट जुफाल, दुनै आउँदा शरीर फुलेको र साथीले नै नचिनेको अनुभूती उनीसँग छ। 

उनी भन्छन्, “स्थलगत अनुगमन तथा कार्यका लागि कात्तिक÷मङ्सिर महिना अनुकुल हुन्छ तर त्यहाँका मानिसहरु हिमालबाट तलतिर झर्ने भएकाले र त्यहाँको कठिन भौगोलिक अवस्थाका कारण त्यसबेला त्यहाँ पुगेर काम हुँदैन। चैत, वैशाख, जेठ र असारमा मात्र काम हुन्छ। त्यसकारण हिउँदमा नगएर मौसम अनुकुल भएपछि वैशाखमा जाने योजना बनेको थियो। योजनाअनुरुप यात्रा वैशाख ६ गते दुनैदेखि शुरु भयो। मेरो ९ दिनसम्मको यात्रा चुनौतीपूर्ण रह्यो, जसमध्ये ७ दिन हिउँसँग लड्नुप¥यो।” 

यात्राको नवौं दिन तिन्जेदेखि क्याटु नाकासम्म गएर योजनाहरु हेरेर आउने पूर्व निर्धारित कार्यक्रमहरु हिमपातका कारण असफल भएपछि जीवन कसरी बचाउने भन्नेमा मात्र आफ्नो ध्यान केन्द्रित भएको बुढा बताउँछन्। भारी हिमपातका कारण तिन्जेमै बास बसी अर्को दिन बिहानै उकालो चढेपछि नेपाल टेलिकमको सामग्री ढुवानी गरिरहेको हेलिकोप्टर बस्ने (५ हजार ३०० मिटर) ठाउँमा पुगेको बुढाले सुनाए। सो ठाउँमा पनि आफू नपुग्दै हेलिकोप्टर उडिसकेकोले  जुफाल आउने योजना असफल भएको थियो। त्यसपछिका छ वटा फ्लाइटपछि हेलिकोप्टरले आफूहरुलाई उद्वार गरी करिब ३५ मिनेटमा जुफाल ल्याएपछि जिन्दगी बाँच्यो भन्दै मनभरी गदगद भएको बुढाले बताए। 

वैशाख छ गते शुरु भएको कठिन र जोखिमपूर्ण यात्रा १४ गते टुङ्गिएको बुढाको भनाइ छ। आइतबार मात्र धो बस्तीमा विरामी परेका चारजना डोल्पो बुद्ध गाउँपालिकाका कर्मचारीहरुलाई उद्वार गर्न नसक्दा साह्रै पीडा भएको डोल्पोबुद्ध गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए। उनका अनुसार हेलिकोप्टरको व्यवस्था गरेर पनि कर्मचारीको उद्वार गर्न सकिएको छैन। दुनै र धोबाट फोन सम्पर्क मात्र भइरहेको छ तर हेलिकोप्टर खराव मौसमका कारण जान नसकेको कारण कर्मचारीलाई सुरक्षित स्थानमा ल्याउन सकिएको छैन। दुर्गममा काम गर्दाका समस्या कति छन् भन्ने कुरा सुगममा बस्नेलाइ के थाहा हुन्छ र? कर्मचारीहरु बताउँछन्। 

‘फिल्ड’ मा खटेरै कामगर्न मुस्किल

एक गाउँबाट अर्को गाउँमा जानका लागि दुई दिनभन्दा बढी लाग्ने भएकाले उपल्लो डोल्पामा काम गर्न मुस्किल हुने गरेको छ। गाउँका बीचमा ठूला ठूला हिमाल भएका कारण हिउँ पहिरो, अक्सिजनको अभाव कारण बाटोमै ज्यान जाने सम्भावना धेरै रहने गरेको छ। 

उपल्लो डोल्पा सडक सञ्जालसँग नजोडिएका कारण घोडा र हेलिकोप्टर बाहेक अन्य माध्यमबाट विरामीहरुको उद्वार गर्न सक्ने अवस्था नभएको तत्कालीन प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। विरामीको घरेलु उपचारदेखि अन्य कुनै माध्यम नभएको कारण विरामीको तत्काल उद्वार नभए ज्यान जाने गर्दछ। 

उपल्लो डोल्पामा बसोबास गर्ने स्थानीयबासी भन्दा बाहिरबाट गएका व्यक्तिहरु त्यहाँको हावापानीसँग सजिलै मुकाविला गर्न नसक्दा विरामी हुने गर्दछन्। बाक्लो कपडा, सोहीअनुसारको खाना अनि व्यवस्थापनका साथ यहाँका सर्वसाधारणहरु बस्ने गर्दछन्। स्थानीवासीहरु विरामी हुँदा स्थानीय आम्चीद्धारा उपचार गर्दै आएका छन्। आम्चीलाई स्थानीय सरकारले समेत सहयोग गरेका छन्। हिमपातका कारण पाँच महिना नियमित खोप सेवा समेत बन्द हुने गरेको छ। 

विकास निर्माणका काम चैतदेखि शुरु 

अन्य मौसममा चिसो हुने भएकाले चैत महिनादेखि असारसम्म उपल्लो डोल्पामा विकास निर्माणको काम शुरु हुने गर्दछ। यार्सागुम्वा सङ्कलनको समय समेत यही रहेको छ। आकासमा बादल आउने वित्तिकै पानी नपरी हिउँ वर्सिने भएकाले कति बेला के हुन्छ भन्ने कुरा थाहा नहुने गरेको छार्का ताङसोङ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रकास गिरी बताउँछन्। 

निम्न आर्थिक स्थिति भएका सर्वसाधारण बाहेक अन्य अधिकांश स्थानीयवासीहरु १२ महिना उपल्लो डोल्पामा नबस्ने उनको भनाइ छ। विकास निर्माण काम शुरु गर्ने समयमा नै यहाँ यार्सागुम्वाको सङ्कलनको समय शुरु हुँदा विकास निर्माणको काम प्रभावित हुँदै आएको छ। 

काठमाडौँ तथा अन्य ठूला सहरमा हुने विकास निर्माणको बजेट अनुसार डोल्पामा बजेट पठाउदा सोचेको जती काम नहुने गरेको डोल्पोवुद्ध गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए। भूगोल हेरेर वजेट बिनियोजन गरेमा मात्र यहाँको विकास नतिजामूखी हुने उनको तर्क छ।

कर्णालीका हिमाली जिल्लाको लागि आर्थिक वर्ष समेत फरक हुनुपर्ने उनको भनाइ छ। हिमपात हुने समयमा अन्य ठाउँमा विकास निर्माण काम भएपनि माथिल्लो डोल्पामा अवरुद्ध हुने गरेको छ। चैतदेखि असारसम्मको समयमा विकास निर्माणका कामहरु एकै पटक हुन नसक्ने उनले बताए।

जिल्ला सदरमुकामको दररेटले उपल्लो डोल्पाको विकास गर्न नसकिने जनप्रतिनिधिहरु बताउँछन्। ठूला ढुवानीका सामग्रीहरु हेलिकोप्टरमा लिँदा सामग्रीको मूल्यभन्दा ढुवानी गर्दा लाग्ने भाडा बढी हुने गरेको उनीहरु बताउँछन्।

कर्णालीको जडीवुटी तथा खनिज पदार्थले देश चलाउनेहरुले यहाँको लागि आवश्यक बजेटमा राम्रोसँग व्यवस्थापन नगर्दा कर्णालीको विकास सोचेजस्तो नभएको डोल्पाकी सांसद सत्य पहाडीले बताईन। 

खानामै सकिन्छ तलब 

उपल्लो डोल्पाका काम गर्ने अधिकांश कर्मचारीहरु तलव भत्ता सबै खानामै सकिने गरेको बताउँछन्। “एक गिलास चिया पिउन रु ५० खर्च गर्नुपर्छ अनि कसरी हाम्रो तलब बच्छ ?” शे फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले भने। उनका अनुसार निकै नै सस्तो खाजा खाउँ भन्दा पनि दिउँसो नास्ताको कम्तीमा सय रुपैयाँ पर्छ, अनि एउटा रोटीको सस्तोमा  ५० रुपैयाँ पर्छ। 

ढुवानीका कारण यहाँ खाद्यान्न पनि महङ्गो हुने गरेको हो। यहाँका अधिकांश कर्मचारीहरु भन्छन् “दिनमै खानामा कम्तीमा पनि एक हजार रुपैयाँ पर्छ अनि हाम्रो तलव कहाँ बाच्छ र ः” उनीहरुको भनाइ छ एकातिर भौगोलिक विकटता र हावापानीले गर्दा समस्या अनि अर्कातिर महङ्गी यस्तो भएकाले यहाँ आउने कर्मचारीलाई धेरै समस्या छ। 

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।