निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण बनाऊः महासङ्घ

पढ्नै पर्ने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई सम्मान गर्ने वातावरण नबनेसम्म मुलुकभित्र लगानी आकर्षित नहुने बताएका छन्।

महासङ्घ समग्र निजी क्षेत्रलाई सम्मानित क्षेत्रको रूपमा स्थापित गराउन लागिपरेको भन्दै उनले आफूहरुको मुख्य नारा नै ‘सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल’ रहेकाले सिङ्गो निजी क्षेत्रले यसलाई अपनत्व लिनु पर्नेमा जोड दिए।

महासङ्घको वस्तुगत परिषद्को पहिलो विस्तारित बैठकलाई सम्बोधनमा उनले वस्तुगत सङ्घहरू महासङ्घको “ब्रेन” को रुपमा रहेको उल्लेख गरे। महासङ्घ मुलुकको समृद्धिको खाका कोर्ने अभियानमा रहेकाले वस्तुगत सङ्घहरूबाट महत्वपूर्ण सल्लाह सुझावको अपेक्षा गरेको अध्यक्ष गोल्छाको भनाइ छ।

महासङ्घको दीर्धकालीन सोचका लक्ष्य यही चैत्र २८ गते सार्वजनिक गरिने र लक्ष्य दिएका सुझावको कार्यान्वयनका लागि एक संयन्त्र बनाइने जानकारी उनले दिए।

निजी क्षेत्रले सधैँ सतही सुझाव मात्र दिन्छन् भन्ने आरोपलाई भिजन पेपरले गलत सावित गरिदिने उनले दाबी गरे। परिषद्का सभापति अञ्जन श्रेष्ठले सबै वस्तुगत सङ्घका समस्या, गुनासा, सुझावहरूलाई परिषद् मार्फत सङ्कलन गरी त्यसको समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

परिषद्को पहिलो बैठकबाट परिषद्का काम कर्तव्यलाई प्रभावकारी बनाई कार्य गर्न उद्योग, सेवा, कृषिलगायतका महत्वपूर्ण क्षेत्रलाई समेटने गरी विभिन्न उपसमूह बनाई कार्य गर्ने उनले बताए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।

भर्खरै प्रकाशित

तपाईंको प्रतिक्रिया लेख्नुहोस्।
error: Content is protected !!